काठमाडाै। दिल्ली सरकारका पर्यावरण मन्त्री गोपाल राईले दिल्ली सरकारले राज्यमा प्रदूषण नियन्त्रण गर्न धेरै कदम चालिरहेको बताउँदै आधा कर्मचारीलाई‘वर्क फ्रम होम’ लागू गरिएको जानकारी दिएका छन्।
उनले भनेका छन्- 'दिल्ली सरकारअन्तर्गतको आपतकालीन विभागबाहेक सबै विभागमा ५० प्रतिशत काम घरबाटै गर्ने निर्णय भएको छ।' उनले दिल्ली सरकारले निजी क्षेत्रका कम्पनी र कार्यालयहरूलाई पनि ५० प्रतिशत ‘वर्क फ्रम होम' लागू गर्न सुझाव दिएको बताए।
यस बाहेक, दिल्ली सरकारले कार्यालयको समय परिवर्तन गर्न र कर्मचारीहरूको सुविधाका लागि शटल बस सेवा प्रयोग गर्न पनि सुझाव दिएको छ।
जाडो मौसममा दिल्लीको वायुमा प्रदुषणको स्तर दिनानुदिन बढिरहेको छ । बुधबार दिल्लीको वायुमा प्रदूषणको स्तर ‘गम्भीर’ श्रेणीमा रेकर्ड गरिएको थियो।
केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डको वेबसाइटमा उपलब्ध तथ्याङ्कअनुसार बुधबार दिउँसो ४ बजे सबैभन्दा बढी प्रदूषित हावा बवाना क्षेत्रमा रहेको थियो।
अपराह्न ४ बजे बवानामा एक्यूआइ ४५९ रेकर्ड गरिएको थियो । यसलाई वायु प्रदूषणको ‘गम्भीर’ श्रेणी मानिन्छ । बवाना बाहेक, दिल्लीका अन्य धेरै क्षेत्रमा एक्यूआई ४०० र ५०० को बीच रेकर्ड गरिएको थियो।