परीक्षामा फेल भएको झोँकमा ‘अन्धाधुन्द’ चक्कु प्रहारबाट ८ जनाको मृत्यु

परीक्षामा फेल भएको झोँकमा ‘अन्धाधुन्द’ चक्कु प्रहारबाट ८ जनाको मृत्यु

काठमाडौं । पूर्वी चीनको वुसी शहरमा एक विद्यार्थीको आक्रमणबाट आठ जनाको मृत्यु भएको छ ।

वुसी यिक्सिङ आर्ट्स एन्ड क्राफ्ट्स भोकेस्नल टेक्निकल कलेजबाहिर भएको अन्धाधुन्द चक्कु प्रहारको घटनामा आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।यस्तै ती युवाको आक्रमणबाट १७ जना घाइते भएका छन् । चक्कु प्रहार गर्ने २१ वर्षीय युवकलाई स्थानीय समयअनुसार शनिबार साँझ १८ः३० बजे पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् र यस घटनामा अनुसन्धान जारी रहेको छ । स्नातकको परीक्षामा असफल हुनु र इन्टर्नशिपको तलबसँग असन्तुष्ट हुनु आक्रमणको कारण रहेको ती युवाले बयान दिएका छन् ।

यो घटना गत सोमबारको एक अर्को नरसंहारसँग जोडिएको छ । जहाँ दक्षिणी चीनको झुहाइ शहरमा एक व्यक्तिले कारले ठक्कर दिएर ३५ जना व्यक्तिको हत्या गरेका थिए । विवाह टुटेका कारण आफूले यस्तो घटना घटाएको ती व्यक्तिले बयान दिएका थिए ।