रूपन्देही : नेकपाको देशव्यापी अभियानको शुरुवात प्रदेश ५ को कोहलपुरबाट हुने भएको छ । केन्द्रीय सचिवालयले बुटवलबाट गर्ने भने पनि नेकपाको प्रदेश ५ को मंगलबार बुटवलमा बसेको कार्यालय बैठकले बाँकेको कोहलपुरबाट शुरु गर्ने निर्णय गरेको हो ।
केन्द्रीय सचिवालयको मंगलबार बसेको बैठकले केन्द्रीय अभियान फागुन ४ गते प्रदेश ५ को बुटवलबाट शुरु गरेर फागुन २१ गते विराटनगरबाट समापन गर्ने निर्णय गरेको थियो । तर, प्रदेश समितिले कोहलपुरबाट शुरु गर्ने निर्णय गरेको नेकपा प्रदेश ५ का कार्यालय सदस्य भुमिश्वर ढकालले जानकारी दिए । ‘
प्रदेशको कार्यालय बुटवलमै रहेकाले त्यहींबाट गर्ने भन्ने केन्द्रको निर्णय भएपनि प्रदेश समितिले कोहलपरबाट गर्ने निर्णय गरेको छ । फागुन ४ गते कोहलपुरमा अगुवा कार्यकर्ता भेला गरेर अभियानको शुरुवात गरिनेछ,’ पौडेलले भने ।
प्रदेश समिति अध्यक्ष ओनसरी घर्तीको अध्यक्षता र प्रदेश इन्चार्ज एवं मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बसेको बैठकले फागुन ४ गते भेला र प्रशिक्षण गर्ने, ५ गते प्रदेशका लागि ३ महिने अभियानको खाका तयार गर्ने, फागुनमा जिल्ला तह देखि तल्लोतह सम्मका पाटीका बैठक गर्ने, जनसंगठन निर्माण गर्ने, चैतमा सर्वसाधारण र कार्यकर्ताबाट सुझाव संकलन गर्ने, तीन तहकै सरकारको कामको समिक्षा गर्ने, प्रचारप्रसार गर्ने र बैशाखमा बृहत जनसभा गर्ने निर्णय गरेको कार्यालय सदस्य बलराम अधिकारीले जानकारी दिए । बैठकले सबै जिल्लालाई समान महत्व दिएर सबै जिल्लामा प्रदेश समितिको बैठक र भेला राख्ने निर्णय गरेको उनले बताए ।