काठमाडौं । श्रीलंकाको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायकेको एनपीपी गठबन्धनले बहुमत ल्याउने निश्चित भएको छ ।
बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा पछिल्लो मतपरिणामअनुसार २२५ सिटमध्ये १३७ स्थानमा गठबन्धनले जित हासिल गरिसकेको छ । श्रीलंकाको संसद्मा २२५ सिट छ । बहुमतका लागि ११३ सिट आवश्यक छ । पहिलोपटक आम निर्वाचनमा वामपन्थीले दुई तिहाइ नजिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
राष्ट्रपति दिसानायकेका लागि यो निर्वाचनमा बहुमत ल्याउनु निकै महत्वपूर्ण छ । राष्ट्रपति दिसानायकेले संसद्बाट अनुमोदन गरेपछि मात्र सरकारका महत्वपूर्ण नीतिहरू कार्यान्वयन गर्न सक्नेछन् ।
हाल उनको पार्टीको संसद्मा जम्मा ३ सांसद छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार निर्वाचनमा दिसानायकेले पूर्ण बहुमत ल्याउन सक्नेछन् । श्रीलंकामा पछिल्लो पटक सन् २०२० को अगस्टमा संसदीय निर्वाचन भएको थियो । यस्तो अवस्थामा अर्को वर्ष नयाँ निर्वाचन हुनुपर्ने थियो तर, यसै वर्षको सेप्टेम्बरमा राष्ट्रपति निर्वाचनमा विजयी भएपछि दिसानायकेले संसद विघटन गरे । त्यसपछि संसदीय निर्वाचनको घोषणा गरेका थिए ।