काठमाडौँ : देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा सर्वसाधारणलाई सहज बनाउन नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचेतक शान्ता चौधरीले माग गरेकी छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले अझै पनि गाउँगाउबाट मानिसहरू समस्या लिएर पुग्ने गरेको बताउँदै सिंहदरबार प्रवेश गर्ने व्यवस्था सहज बनाउन माग गरिन् ।
उनले भनिन्“सभामुख महोदय, देश सङ्घीयतामा भइसकेपछि सिंहदरबारको शासन शक्ति गाउँगाउमा पुर्याउन धेरै हदसम्म यो सरकार सफल भएको छ । तर देशको केन्द्रीय सत्ताको केन्द्र सिंहदरबारभित्र देशको विभिन्न भागबाट आएर कामहरू गरीरहनुपर्ने भेटघाट गरीरहनुपर्ने व्यवस्था अझै पनि छ । जनस्तरका व्यक्तिहरू सिंहदरबारभित्र प्रवेश गर्नुपर्दा भित्रबाटै पास दिनुपर्ने अनिवार्य व्यवस्था छ । हो सुरक्षाको हिसाबले यो आवश्यकता पनि छ । तर पास दिनकैलागी र भेटघाट व्यवस्थापन गर्ननै धेरै समय जाने भएकाले अवदेखी निश्चित समयभित्र कम्तीमा दिनको दुइघण्टा आफ्नो राष्ट्रिय परिचयपत्र देखाएरै प्रवेश दिइयोस् सभामुख महोदय यसले गर्दा समयको बचत त हुन्छ नै यसले गर्दा नेपाली जनतालाई सिंहदरबार मेरो पनि हो भन्ने अनुभूति दिलाउँछ ”
सिंहदरबारमा रहेको चार वटा गेटमध्ये दक्षिण गेट मात्र हाल सर्वसाधारणका लागि खुला गरिएको छ ।