काठमाडौं। संघीय संसद्अन्तर्गत दुई सदन र सातै प्रदेशमा एक/एक सभा छन्। जहाँ प्रत्यक्ष/अप्रत्यक्ष रूपमा जनताबाट निर्वाचित जनप्रतिनिधि छन्। संघमा जनताबाट प्रतिनिधिसभा र राष्ट्रियसभा छन्। सरकारदेखि कानुन, नीति एवं कार्यक्रम बनाउने तथा कार्यान्वयनको अवस्थाबारे छलफल गर्ने तथा सरकारलाई सुझाव एवं निर्देशन दिनेसम्मको गहन जिम्मेवारी संसद्लाई छ।
त्यसैले त संघदेखि प्रदेश सभाका सदस्यलाई ‘माननीय’ शब्दले आदर गरिन्छ। ‘मान वा आदर गर्न योग्यलाई ‘माननीय’ भनिएको हो। ‘माननीय’ भन्ने शब्दले आदरयोग्य पात्रलाई जनाउँछ ।
तर, नेपालको सन्दर्भमा ‘माननीय’ शब्द नै हलुका, फितलो र अलोकप्रियताको पर्याय बन्न थालेको छ। एकपछि अर्को ‘माननीय’हरू विभिन्न अपराध कर्ममा प्रहरी हिरासतमा पुगिरहेका छन् । यद्यपि, विभिन्न आरोपमा अनुसन्धानका लागि प्रहरी हिरासतमा पुग्न आफैँमा दोषी करार हुनु होइन। तर, कुनै कसुर गरेको तथ्य/प्रमाण नभेटी राजनीतिक रूपमा समेत शक्तिशाली हुने माननीयलाई प्रहरीले सहजै पक्राउ गर्न सक्दैन।
कात्तिक महिनामा मात्रै संघ र प्रदेशका गरी तीनजना माननीय प्रहरी हिरासतमा पुगेका छन्। फरक-फरक मुद्दामा उनीहरू ‘कष्टडी’मा पुगेका हुन् । सहकारीको रकम हिनामिना र अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कात्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन्।
काठमाडौंमा पक्राउ परेका लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन्। उनलाई कास्कीबाट रुपन्देही सारिएको छ। लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। त्यसैगरी, कोशी र गण्डकी प्रदेशका दुई सांसद पनि विभिन्न मुद्दामा हिरासतमा छन्।
नेकपा एमालेबाट निर्वाचित कोशी प्रदेशका पूर्व-आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जापानमा मानव तस्करी प्रकरणमा संलग्न भएको आरोपमा काठमाडौं प्रहरीको हिरासतमा छन्।
आफूसहित नक्कली कागजातका आधारमा असम्बन्धित मानिसलाई जापान लगेको खुलेपछि अधिकारीलाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो। अधिकारीलाई आइतबार विराटनगरबाट पक्राउ गरी काठमाडौं ल्याइएको हो।
अधिकारीपछि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे त जेल चलान नै भएका छन्। उनलाई प्रहरीले मंगलबार पक्राउ गरेर जेल चलान गरेको हो। २१ वर्षअघि गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को हात छिनालेको घटनामा गुण्डागर्दीको पृष्ठभूमिबाटै राजनीतिमा आएका दीपक मनाङे सर्वोच्चको फैसलाअनुसार मंगलबार जेल चलान भएका हुन्।
विभिन्न अपराधमा माननीयहरू प्रहरी हिरासत वा जेल पुगेको पहिलो घटना होइन। पछिल्ला केही वर्ष प्रहरी हिरासत वा जेल पुग्ने माननीयको संख्या झण्डै दर्जन छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेका तत्कालीन सांसद टोपबहादुर रायमाझी अहिले पनि पुर्पक्षका लागि जेलमा छन् ।
त्यसअघि माओवादी केन्द्रका कृष्णबहादुर महरा, नेपाली कांग्रेस अफताब आलम र हाल नागरिक उन्मुक्तिका संस्थापक रेशम चोधरी पनि विभिन्न अपराधमा प्रहरी हिरासत वा जेल पुगेका माननीय हुन् । यसबाहेक प्रहरी हिरासत वा जेल पुगेर छुटेको माननीयको सूची पनि लामै छ । यसैगरी, प्रहरीको खोजी सूचीमा रहेका केही माननीय पनि छन् ।
अधिकारीसहित नौ जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति
कोशी प्रदेशका पूर्व-आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीसहित नौ जनालाई अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीनबन्धु बरालले उनीहरूलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका हुन्।
कात्तिक ११ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए। तर, उनीहरूलाई जापानको अध्यागमनले टोकियो विमानस्थलबाट डिपोर्ट (निष्कासन) गरेको थियो।
उनीहरूलाई बिचौलियाहरू धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजालले पठाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीहरू विरुद्धमा जिल्ला प्रहरी परिसर काठमाडौंले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान गरिरहेको छ ।
अधिकारी जोडिएको मानव तस्करीमा संलग्न आरोपमा थप दुईजना पक्राउ परेका छन् । जापानबाट डिपोर्ट भएकाहरूलाई नक्कली कागजात बनाइदिने दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
६ वर्षपछि मनाङेको हातमा फेरि हतकडी
राजनीतिक दबाब र प्रभावमा पक्राउबाट जोगिँदै आएका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङको हातमा फेरि हतकडी लागेको छ। मनाङेलाई मंगलबार बिहान स्वयम्भूनजिकै सानो भर्याङबाट पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले मनाङेलाई आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको थियो । ६ वर्षअघि पक्राउ पर्दा पनि मनाङे स्वयम्भूमै थिए । यसअघि उनी २०७५ वैशाख ६ गते पक्राउ परेका थिए । त्यतिबेला उनी पनि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य थिए ।
अहिले पक्राउ परेको घटना र त्यतिबेला पक्राउको घटना एउटै मुद्दासँग केन्द्र्रित छ । २०६१ वैशाख ३१ मा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेण्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई तरबार प्रहार गरेर हात छिनालेको अभियोग मनाङेमाथि थियो । उक्त घटनापछि ज्यान मार्ने उद्योग मुद्दामा मनाङेविरुद्ध काठमाडौं जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
काठमाडौं जिल्ला अदालतको फैसलामाथि पुनरावेदन गरेका मनाङेविरुद्ध उच्च अदालत पाटनले २०६९ साउन २८ गते जिल्लाकै फैसलालाई सदर गरिदियो । त्यसपछि मनाङे सर्वोच्च पुगे । सर्वोच्च अदालतले पनि हालै पुनरावेदनकै फैसलालाई सदर गरिदियो । ज्यान मार्ने उद्योगमा मनाङे यसअघि दुईपटक गरेर ३२ महिना जेल बसिसकेका कारण अब बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्ने छ । पटक-पटक मन्त्री र प्रदेश सरकार गठनमा मन्त्रालयको बार्गेनिङ गर्दै आएका मनाङेको अबको केही महिना जेलभित्र बास हुनेछ । उनलाई डिल्लीबजार कारागार पठाइएको छ ।
रविलाई फेरि काठमाडौं ल्याउने तयारी
सहकारीको रकम अपचलनमा अनुसन्धानका लागि पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई काठमाडौं पनि ल्याउने गृहकार्य थालिएको छ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई मंगलबार विमानमार्फत रुपन्देहीको भैरहवा पुर्याइएको थियो ।
पोखराको सूर्यदर्शनसँगै बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलनमा समेत अनुसन्धान गर्नुपर्ने देखिएपछि उहाँलाई हवाईमार्गबाट भैरहवा विमानस्थल हुँदै इलाका प्रहरी कार्यालय बुटवल लगिएको हो । बुटवलमा बयान सकिएसँगै उनलाई काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ। सूर्यदर्शन सहकारी ठगीमै पक्राउ परेका कुमार रम्तेललाई भने काठमाडौं पठाउन कास्की प्रहरीलाई पत्राचार गरिएको छ।
प्रहरीले ओखलढुंगाका गितेन्द्रबाबु (जिबी) राईले सञ्चालन गरेका काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, रुपन्देहीको सुप्रिम, चितवनको सहारा र पर्साको सानोपाइला सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि अनुसन्धान थालेको हो। लामिछाने गोर्खा मिडियाद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक थिए। पाँच सहकारी ठगीका मुख्य आरोपित जिबी राई भने फरार छन् ।
छानविनमा सहयोग गर्न तयार छु, अनर्गल प्रचार नगरौं : धनराज
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पछिल्लो समय आफूविरुद्ध अनर्गल प्रचार भएको बताउँदै आफूमाथि छानविनको माग गरेका छन्। राज्यका निकायलाई आफूले छानविनमा सहयोग पुर्याउने उल्लेख गर्दै उहाँले अनर्गल प्रचार बन्द गर्न अनुरोध गरेका छन्।
आफू सादगी जीवन बिताउने, निष्ठाको राजनीति र सुशासनको पक्षमा जीवनभर लडिरहेको उल्लेख गर्दै सार्वजनिक कार्यक्रम र मिडियाहरूमा ठग हो, दोषी हो भनी कपोलकल्पित प्रचार गर्नु निन्दनीय भएको बताए।
मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘म कृष्णप्रसाद भट्टाराई जस्ता सदाचारी नेताको अनुयायी हुँ । म निष्ठापूर्वक कहीँ कतै नचुकीकन भ्रष्टाचारविरुद्ध इमानदारीपूर्वक निरन्तर लड्दै आएको हुँ । जुन विकृतिका विरुद्ध मैले मेरो राजनीतिक जीवनभर लड्दै आएको छु त्यही विषय मेरो टाउकोमा थोपरेर मेरो राजनीतिक जीवन समाप्त पार्न खोजिएको हो कि भन्ने आशंका मैले गरेको छु । मैले गलत तरिकाले सम्पत्ति कमाएको भए राज्यका निकायले जहिले पनि छानविन गर्न सक्नेछन् । म नेपाल सरकारको कुनै पनि अनुसन्धान गर्ने निकायलाई अनुसन्धानमा सहयोग गर्न तयार छु।’
पूर्व-श्रीमतीले गरेको गल्तीको सजाय आफूले भोग्न नमिल्ने बताउँदै ज्योति गुरुङ जहाँ भए पनि ल्याएर छानविनको दायरामा ल्याउनु राज्यको काम भएको उनले बताए। ‘भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध शरीरमा एक थोपा रगत रहेसम्म म सधैँ लडिरहने छु,’ उनले भनेका छन्, ‘मेरो पूर्व-श्रीमती ज्योति गुरुङ जहाँ भए पनि झिकाई अनुसन्धान गरियोस् र सहकारीको अपचलन गरेको पैसा पीडितलाई फिर्ता गरियोस्।’