काठमाडौं । यू–१९ महिला विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य दिएको छ ।
यूएईस्थित द सेभेन्स स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले पूरै ओभर खेलेर २ विकेटको क्षतिमा २१३ रन बनाएको हो । नेपालका लागि कप्तान पूजा महतोले शतक प्रहार गरिन् । पूजाले ६९ बलमा अविजित १३० रन बनाइन् । उनले ५७ बलमा १२ चौका प्रहार गर्दै शतक पूरा गरेकी हुन् ।
सोनी पाख्रीनले अविजित ४३ र सावित्री धामीले ११ रन बनाइन् । सोनीले ३३ बलमा २ छक्का प्रहार गरेकी थिइन् । साना प्रविनले ६ रन बनाइन् । कुवेतका लागि जिफा जिलानी र रेलिन मारिया डी सुजाले १–१ विकेट लिइन् ।