दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शुक्रबार माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्।
स्थानीय समयअनुसार बिहान ४:३३ बजे २७ जना चालक दलका सदस्यसहितको १२९ टन वजनको जहाज जेजुको बियाङ टापुबाट २४ किलोमिटर टाढा डुबेको हो। १६ दक्षिण कोरियाली र ११ विदेशीसहित चालक दलका सदस्यमध्ये १५ जनालाई उद्धार गरिएको थियो जसमध्ये दुई जनालाई हृदयाघातको अवस्थामा भेटिएको र पछि मृत घोषणा गरिएको थियो।
उद्धारकर्ताहरूले १० दक्षिण कोरियाली र दुई विदेशीसहित बेपत्ता १२ नाविकहरूको खोजी गरिरहेका छन्। उद्धार गरिएका चालक दलका सदस्यहरूले आफ्नो डुंगा अर्को जहाजमा स्थानान्तरण गर्ने क्रममा माछा मार्ने डुङ्गा अचानक पल्टिएर डुबेको बताएका छन्।