काठमाडौं। संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच गत असार १७ गते भएको सात बुँदे सहमतिको जगमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार ३१ गते प्रधानमन्त्री नियुक्त भएका थिए। सरकार गठन भएको एक सय दिन बितिसक्दा पनि संसद्मा झण्डै दुईतिहाइ बहुमत सांसदको समर्थन रहेको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ।
विपक्षी दलहरूले त सरकारविरुद्ध सडक आन्दोलनको घोषणा नै गरिसकेका छन्। सत्तारूढ दलको प्रमुख घटक नेपाली कांग्रेसभित्र सरकारका कामकारबाहीप्रति व्यापक असन्तुष्टिका स्वर सुनिन थालेका छन्। विशेषगरी नेपाली कांग्रेसको संस्थापन इतर डा.शेखर कोइराला समूहले सरकारप्रति प्रश्न गरिरहेको छ।
गठन भएको छाटो समयमै सरकारको आलोचना हुन थालेपछि नेपाली कांग्रेस र नेकपा एमालेले सरकारका काम प्रभावकारी बनाउन र केन्द्रीयदेखि स्थानीय तहसम्मको सरकारलाई व्यवस्थित बनाउनका लागि प्रभावशाली नेता सम्मिलित शक्तिशाली संयन्त्र बनाएका छन्।
केन्द्र, प्रदेश र स्थानीय तहसम्मकै सरकारलाई व्यवस्थित र बलियो हिसाबले चलाउने गरी दुवै दलका केन्द्रीय नेता रहनेगरी संयन्त्र निर्माण भएको नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
शक्तिशाली संयन्त्रको मुख्य काम नै सरकारका काम कारबाही प्रभावकारी बनाउने रहेका दाबी गर्दै प्रचार विभाग प्रमुख गौतमले भने, ‘सत्ता समीकरणलाई व्यवस्थित र बलियो हिसाबमा चलाउनका लागि केन्द्रदेखि स्थानीय तहसम्मै संयन्त्र निर्माण गर्ने निर्णय गरेका छौँ । यो केन्द्रीय संयन्त्रमा दुवै पार्टीका शक्तिशाली नेताहरू हुनुहुन्छ।’
संयन्त्रमा नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्र मन्त्री आरजु राणा देउवा रहेका छन्। एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल छन्।
सोमबार नै संयन्त्र बनाइए पनि सार्वजनिक भने गरिएको छैन। केन्द्रकै शैलीमा प्रदेशमा पनि प्रदेशका इञ्चार्ज, अध्यक्ष, प्रदेश संसदीय दलको नेता, जिल्ला अध्यक्ष संयन्त्रमा रहने बताइएको छ। कांग्रेसबाट पनि प्रदेशका पदाधिकारी तहका नेता संयन्त्रमा रहने बताइएको छ।
संयन्त्रले सबै तहका सरकारलाई थप प्रभावकारी बनाउने गरी काम गर्ने जानकारी दिँदै नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय स्रोतले भनेको छ, ‘यो औपचारिक संयन्त्र होइन, तर सरकारले काम गर्नुभन्दा अगाडि कसरी व्यवस्थित र प्रभावकारी काम गर्ने ? भनेर यसले सहजीकरण गर्नेछ।’
रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष तथा वडा नं २ को अध्यक्षमा हुन लागेको उपनिर्वाचनमा एमाले कांग्रेसले गठबन्धनको तयारी गरेका छन्। माओवादीको बलियो आधार क्षेत्र मानिएको यो क्षेत्रमा सत्तारूढ दुई ठूला दलले गठबन्धन गरेर उसले जितेका क्षेत्र आफ्नो पक्षमा पार्न खोजेका हुन्।
यसअघि माओवादीबाटै निर्वाचन जितेका पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बूढा र वडा नं २ का अध्यक्ष जसबहादुर सिर्पालीको भदौ २८ गते काठमाडौंबाट घर फर्कंदै गरेको एउटै गाडी बागलुङमा दुर्घटनामा परेर मृत्यु भएको थियो।
आगामी मंसिर १६ गते देशभरका स्थानीय तहका रिक्त पदमा उपनिर्वाचन हुँदै छ। एमाले र कांग्रेसले गठबन्धन गरेर जाने सूचना पाएपछि माओवादी केन्द्रले पनि विप्लव नेतृत्वको नेकपा र नेकपा एसलाई साथ लिएर यसअघि जितेको ठाउँमा पुनः जित्नेगरी योजना बनाएको छ।
नेकपा एमाले रुकुमपूर्वका अध्यक्ष लीलामणि गौतमले पुथा उत्तरगंगाको उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षमा नेपाली कांग्रेससँग गठबन्धन गरेर जाने विषयमा अन्तिम तयारी भए पनि टुंगो भने लागिनसकेको बताइ।
नेकपा माओवादी केन्द्रका लुम्बिनी अध्यक्ष सुदर्शन बरालले विप्लव नेतृत्वको नेकपा, नेकपा एस र जसपासँग सहकार्य गरेर जाने रणनीति बनाएको जानकारी दिए। नेपाली कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले गत निर्वाचनमा थोरै मतले पराजित भएको क्षेत्रमा अहिले एमाले कांग्रेसको सहकार्य गरेर सजिलै जित्न सकिने भएकाले सोही अनुसारको तयारी गरेको जानकारी दिए।
स्थानीय तह उपनिर्वाचनको लागि नेपाली कांग्रेसबाट नौजना उम्मेदवार सर्वसम्मत भएका छन् । नेपाली कांग्रेस ‘स्थानीय तह उपनिर्वाचन-२०८१ केन्द्रीय संयोजन समिति’का सदस्य मधु आचार्यले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षसहित अन्य पालिका गरी नौ ठाउँमा सर्वसम्मत उम्मेदवार तय भएको जानकारी दिएका छन्।
जसमा गौरीशंकरको उपाध्यक्षका लागि पासदिकी तामाङ कांग्रेसबाट सर्वसम्मत उम्मेदवार भएका छन्। झापाको कन्काई नगरपालिका ६ बाट रामगोपाल ओली, कञ्चनपुर भीमदत्त नगरपालिका ६ बाट प्रकाशबहादुर चन्द, गुल्मीको मुसिकोट नगरपालिका-१ बाट आनन्द श्रेष्ठ सर्वसम्मत भएका छन्।
त्यस्तै, सुनसरीको गढी गाउँपालिका–६ बाट तेतर साह, कालिकोटको तिला गुफा नगरपालिका-४ बाट अविराज शाही, तेह्रथुम लालीगुराँस नगरपालिका-८ बाट नगेन्द्र लिम्बू सर्वसम्मत भएका छन्।
यस्तै, गोरखाको गण्डकी नगरपालिका-५ मा पनि उम्मेदवार सर्वसम्मत भएको आचार्यले जानकारी दिए। कैलालीको जिल्ला समन्वय समिति प्रमुखमा केशवराज पन्तको नाम पनि टुंगिएको छ । समितिले कात्तिक २५ गतेसम्म उम्मेदवारको अन्तिम टुंगो लगाउने आचार्यको दाबी छ।
नेकपा एमालेले काठमाडौंमा उपचुनाव हुन लागेका चारवटै सिटमा उम्मेदवार टुंगो लगाएको छ । जिल्ला कमिटीको बुधबार बसेको बैठकले कीर्तिपुर नगरपालिकाको मेयरसहित सबै उम्मेदवारको टुंगो लगाएको जिल्ला इञ्चार्ज आनन्द पोखरेलले जानकारी दिए।
महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको बैठकले कीर्तिपुरको मेयरमा केन्द्रीय सदस्य डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सर्वसम्मत सिफारिश गरेको जिल्ला अध्यक्ष दीपक निरौलाले बताए।
त्यस्तै, कीर्तिपुर वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ मा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई जिल्ला कमिटीले पनि सर्वसम्मत सिफारिश गरेको छ ।