काठमाडौं : एमसीसी सम्बन्धी अध्ययनका लागी झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले १० दिनको समयसीमाभित्र प्रतिवदेन तयार पार्न नसक्ने निश्कर्ष निकाल्दै म्याद थपका लागि नेकपा नेतृत्वसँग आग्रह गर्ने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको तीन सदस्यीय कार्यदलको बैठकले म्याद थपका लागि नेकपा सचिवालयसमक्ष माग गर्ने निर्णय गरेको हो । गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकले झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले पाएको १० दिने समयसीमा (भोलि) बुधबार सकिँदैछ ।
कार्यदल गठन भएको भोलिपल्टदेखि नै अध्ययन सामाग्रीहरु जुटाएर काम गर्दा पनि प्रतिवेदन लेखनमा समय नपुगेकाले म्याद थपका लागि पार्टीसँग आग्रह गर्ने निर्णय गरिएको स्रोतले जनाएको छ । स्रोतले भन्यो, ‘अध्ययन गर्न समय लागेकाले प्रतिवेदन लेखनका लागि म्याद थप्न आग्रह गर्ने निर्णय भएको छ ।’मंगलबार सिंहदरबारको बैठकपछि कार्यदलका संयोजक झलनाथ खनालले भने, ‘हामीले अध्ययन गरिराखेका छौं, तर लेखन कार्य नभ्याइन सक्छ, लेखन कार्य सिद्धिएन भने म्याद थपिन्छ ।