काठमाडौं : बालुवाटारस्थित ललिता निवासको जग्गा खरिद गर्दा गैरआवासीय नेपाली संघलाई सरकारले नै राजस्व छुट दिएको दाबी गरेको छ । सरकारले ३१ बैशाख ०७२ सालमा आफूहरूलाई ५० लाख ८८ हजार रुपैयाँ बराबरको राजस्व मिनाहा गरेको संघका प्रवक्ता डीबी क्षेत्रीले जानकारी दिए ।
प्रवक्ता क्षेत्रीका अनुसार संघले राजस्व छुट पाउँदा स्व। सुशील कोइराला प्रधानमन्त्री थिए । तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री दलबहादुर रानाको प्रस्तावमा मन्त्रिपरिषद बैठकले संघलाई राजस्वमा छुट दिने निर्णय गरेको थियो ।
ललिता निवासको जग्गा संघको नाममा आउनुभन्दा पहिला नै सरकारले राजस्व नलिने निर्णय गरेको देखिन्छ । किनभने, संघले १४ जेठ २०७२ मा आएर मात्रै जग्गा आफ्नो नामसारी गरेको देखिन्छ । गैरआवासीय नेपाली संघले १२ करोड ७२ लाख रुपैयाँमा ललिता निवासको तीन रोपनी जग्गा किनेको थियो ।