काठमाडौं। नेपालमा नेपाली चलचित्रलाई विदेशी चलचित्रले ब्यबसायिक रुपमा ठुलो असर पार्दै गएको गुनासो बिगतमा चलचित्रकर्मीहरुकै थियो । तर यसपटकको महालौ अर्कै भएको छ । यसपटकको दशैंदेखि हालसम्म बरु नेपाली चलचित्रले नै विदेशी चलचित्रलाई व्यावसायिक रुपमा धरासायी बनाएका छन् ।
यसपटक दशैंलाई लक्षित गरेर फुलपातिको दिन तीनवटा नेपाली चलचित्र छक्का पञ्जा ५, १२ गाउँ र ज्वाईं साब रिलिज भए । दशैंमा यसरी रिलिज भएका तीन नेपाली चलचित्रले तेश्रो सातासम्म आईपुग्दा नेपाली चलचित्रको व्यापारमा नयाँ रेकर्ड बनाएका छन् । यो रेकर्डले नेपालमा नेपाली चलचित्रको बजार निकै ठुलो भएको प्रमाणित गरिसकेको छ ।
तेश्रो सातासम्म आईपुग्दा यी तीन चलचित्रले नेपालीे बक्स अफिसमा साँच्चै नयाँ इतिहाँस बनाएको छ । यी तीन चलचित्रले बुधबार १४ कात्तिकसम्म तेश्रो साता पुरा गर्दा नेपालको बक्स अफिसबाट ४१ करोड रुपैयाँको ग्रस व्यापार गरेका छन् । यो नेपाली चलचित्रको लागि एउटा नयाँ इतिहास भएको ऋच इन्टरटेनमेन्टका सञ्चालक एवम् चलचित्र ज्वाईं सावका वितरक करण श्रेष्ठले बताएका छन् । उनको कथनमा तीन वटा नेपाली चलचित्रले तीन सातामा ४१ करोड भन्दामाथिको ग्रस व्यापार गर्नुले राम्रो नेपाली चलचित्रलाई हाम्रा दर्शकले हेर्छन भन्ने पुष्टी भएको छ ।
फुलपातिमा रिलिज भएका यी तीन नेपाली चलचित्रमध्य तेश्रोसातासम्म सबैभन्दा बढी व्यापार चलचित्र छक्का पञ्जा ५ ले गरेको छ । यो चलचित्रले तेश्रो सातासम्म २१ दिनमा नेपालको बक्स अफिसबाट २० करोड ५० लाख रुपैयाँ भन्दामाथिको ग्रस व्यापार गरेको यो चलचित्रको वितरक संस्था ब्याँकटेस फिल्मस्ले जनाएको छ ।
दीपकराज गिरी, वर्षा सिवाकोटी, केदार घिमिरे (माग्ने बुढा), रमेश बुढाथोकी, प्रकाश घिमिरे, तेज गिरीसहितको मुख्य भूमिका रहेको यो चलचित्रको कमाईप्रति यसका निर्माता अभिनेता दीपकराज गिरी निकै खुसी छन्,‘यसपटक छक्का पञ्जा ५ को व्यापारबाट हामी साह्रै खुसी छौं । हाम्रो मात्र हैन, हामीसँगै रिलिज भएका बाँकी दुई चलचित्रले पनि यसपटक अत्यन्त राम्रो व्यापार गरेका छन् ।’ यसपटकको दशैंमा नेपाली चलचित्रहरुले व्यबसायिक रुपमा साँच्चै उत्साह ल्याएको पनि दीपकराजले बताएका छन् ।
यो चलचित्रकी निर्देशक दीपाश्री निरौला पनि यसपटकको ब्यबसायिक सफलताले त्यत्तिकै उत्साहित छन् । दीपाको भनाईमा यो तीन सातामा रिलिज भएका चारवटा बिदेशी चलचित्रलाई समेत व्यबसायिक रुपमा नेपाली चलचित्रले असफल तुल्याएका छन् । यही बिहिबारबाट चौथो सातामा प्रदर्शन प्रवेश गरेको चलचित्र छक्का पञ्जा ५ले अहिले पनि दर्शकबाट त्यत्तिकै मायाँ पाएको र अझै हेरै हलहरुमा ६० देखि ७० प्रतिसतसम्म अक्युपेन्सी रहेको पनि दीपाश्रीको कथन छ ।
यसपटकको दशैंमा रिलिज भएको विराज भट्टको चलचित्र १२ गाउँले रिलिज भएको तीन सातामा १७ करोड भन्दा माथिको ग्रस व्यापार नेपालबाट गरेको यसका वितरकको कथन छ । यो चलचित्रले एक्सन जनरालाई फेरी फकाएको वितरकहरुको कथन छ । यो चलचित्रलाई गोविन्द शाहीले वितरण गरेका हुन् । उनी चलचित्रको व्यापारबाट दँग छन् । तीनवटा नेपाली चलचित्र एकसाथ रिलिज हुँदापनि यो चलचित्रले यतिराम्रो व्यापार गर्नुको कारण पनि चलचित्र नै राम्रो भएकाले वितरक गोविन्दले जिकिर गरे ।
चलचित्र १२ गाउँले नयाँ रिलिज भएका विदेशी चलचित्र भन्दा बढी शो चौथो सातामा पनि पाईरहेको वितरक गोविन्दले बताए । यसैसाता रिलिज भएको हलिउडको ससक्त चलचित्र भेनमलाई समेत चलचित्र १२ गाउँले धेरै हलमा व्यासयिक रुपमा जितेको पनि यी वितरकको दाबी छ । यो चलचित्रमा विराज भट्टसँगै उनका छोरा समीर भट्ट, मुरलीघर, न्यान्सी खड्का, सनिसा भट्टराई, दीया मास्के, कालु राना, सुलेमान शँकर (इकु)सहितको मुख्य भूमिका रहेको छ ।
दशैंको फुलपातिबाट रिलिज भएको अर्को चलचित्र ज्वाईं साबले तीन हप्तामा नेपालबाट ३ करोड ५० लाख रुपैयाँको ग्रस व्यापार गरेको छ । बसन्त निरौलाले निर्देशन गरेको यो चलचित्रमा जितु नेपाल, बुद्धि तामाङ, प्रकाश घिमिरे, नीति शाह, रमेश बुढाथोकीसहितका कलाकारको मुख्य भूमिका रहेको छ । आफ्नो चलचित्रको व्यापारबाट ज्वाईं साबका अभिनेता तिजु नेपालपनि खुसी छन् । चलचित्रले लगानी उठाएर केही मुनाफासमेत कमाएको जितुको दाबी छ । यसरी तीनवटा चलचित्र एकसाथ रिलिज हुँदापनि सबै चलचित्रलाई दर्शकले मायाँ गर्नु नेपाली चलचित्र उधोगको लागि सुखद पक्ष भएको जितुले बताएका छन् ।