काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने डेढ सातादेखि कास्की प्रहरीको हिरासतमा छन् । सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा पक्राउ परेका उनको हिरासत बसाइ अझै लम्बिने भएको छ । उनको तिहार पनि पोखरामा हिरासतमै बित्ने निश्चित भएको छ ।
सभापति हिरासतमा पुगेपछि देशको चौथो दल रास्वपा यतिखेर सडक आन्दोलनमा छ । राजनीति पूर्वाग्रहका आधारमा लामिछानेलाई पक्राउ गरिएको भन्दै रास्वपाले कात्तिक ३ यता निरन्तर आन्दोलन गरिरहेको छ । एक साता पोखरामा आन्दोलित रास्वपा अहिले काठमाडौं केन्द्रित छ ।
रवि पक्राउ पर्ने दिन कात्तिक २ गते बिहान बानेश्वरस्थित संसद् सचिवालयमा विपक्षी दलको बैठक बसेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डाके को बैठकमा विपक्षीबाहेक सत्ता पक्षकै नेताहरू महन्थ ठाकुर र रञ्जिता श्रेष्ठ पनि सहभागी थिए।
त्यहाँ रवि पक्राउ पर्न लागेको सूचना प्रचण्डले सुनाएका थिए । त्यसपछि रविले प्रचण्ड लगायत विपक्षी र अन्य दललाई राजनीतिक प्रतिशोधका आधारमा सरकारले पक्रन लागेको भन्दै त्यसविरुद्ध बोल्न आग्रह गरेका थिए।
तर, वित्तीय अपराधमा मुछिएको व्यक्तिलाई प्रतिपक्ष र सत्ता पक्षका कुनै दलले साथ दिएनन् । वित्तीय अपराधमा मुछिएकाल छानबिनमा सघाउनुपर्ने भन्दै सत्ता र प्रतिपक्षी दलहरू एक मत देखिएका छन् ।
रवि पक्राउ सन्दर्भमा सत्तापक्षीय नेताहरू एकजुट भएका छन् । उनीहरू सातै दलले त्यसबारेमा संयुक्त वक्तव्य नै निकाले ।
गत कात्तिक २ गते पार्टी कार्यालय चमतीबाट पक्राउ परेपछि जनमत पार्टीका अध्यक्ष डा सीके राउतले सरकारले राजनीतिक प्रतिशोध गरेको टिप्पणी गरेका थिए ।
राउतले यति लेखेपछि रास्वपाले आफूलाई राउतको पार्टीले सहयोग गर्ने ठूलो आश गरेको थियो । तर पार्टीका प्रवक्ता शरदसिंह यादवर रास्वपाको आन्दोलनलाई सघाउने कुरा हल्ला मात्रै भएको दाबी गर्छन् ।
उसो त राउत नेतृत्वको जनमतलाई आन्दोलनमा सहयोग गर्न रास्वपा नेता–कार्यकर्ताले पटक पटक आग्रह गरेका थिए । रास्वपा केही नेता र सांसदहरूले राउतलाई भेटेर आफूहरूलाई सहयोग गर्न अपीलसमेत गरे ।
तर, राउतले पार्टीमा सल्लाह गर्ने भन्दै यस मुद्दामा पन्छिन खोजेको स्रोतको दाबी छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफूहरूलाई साथ दिने कुरामा रास्वपा ढुक्क थियो। तर प्रचण्ड र उनको पार्टी माओवादीले रास्वपा लाई सहयोग गरेन ।
प्रचण्डले यसबारे यताउति गर्न खोजे पनि दोस्रो तहका नेताले रविमाथि जसरी पनि कारबाही हुनुपर्ने अडान राखे । त्यसपछि रास्वपालाई सहयोग सम्भव भएन ।