कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैनः मीन विश्वकर्मा

कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैनः मीन विश्वकर्मा

काठमाडौं। नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले वर्तमान सत्ता गठबन्धनलाई २०७९ को निर्वाचनपछि ०८४ सम्मका लागि बनेको सबैभन्दा ‘उत्कृष्ट गठबन्धन’ को संज्ञा दिएका छन्। मंगलबार रिपोर्टर्स क्लब नेपालले समसामयिक विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमालेलाई पालैपालो प्रयोग गरेको बताए। उनले प्रचण्डको अस्थिर मनस्थिति र चुलबुले उत्ताउलोपनाका कारण कांग्रेस–एमालेसहितको गठबन्धन बनेको बताए ।


वर्तमान सत्ता गठबन्धन बन्नुमा प्रचण्डको देन रहेको दाबी गर्दै उनले यो गठबन्धन भत्काउने खेलमा नलाग्न आग्रह गरे। ‘अहिले हामी यो गठबन्धनको विकल्प खोज्ने, अथवा केही शर्मा ओलीलाई असहयोग गर्ने, कांग्रेस यो गठबन्धन भत्काएर अन्त जाने पक्षमा छैन,’ उनले भने ।

साथै, नेकपा (एमाले) ले व्यवसायी मिनबहादुर गुरुङसँग जग्गा लिनु गलत रहेको उनको टिप्पणी छ । नेता विश्वकर्माले सरकारवादी मुद्दा खेपिराखेका गुरुङसँग एमालेले जग्गा दान लिँदा दलहरुप्रति जनतामा नकारात्मक सन्देश गएको बताए । एमालेले मिनबहादुर गुरुङसँग जग्गा लिनु कानुनी, राजनीतिक र नैतिक दृष्टिकोणले पनि गलत रहेको उनको भनाइ छ ।

‘जो व्यक्ति जग्गासम्बन्धी, अनियमितता सम्बन्धी सरकार वादी मुद्दा बोकिराखेका छन्, आमनेसामने मीनबहादुर गुरुङ र नेपाल सरकारको बीचमा झैझगडा छ, मुद्दा मामिला छ । तर, सरकारवादी मुद्दा बोक्ने सरकारले नै मीनबहादुर गुरुङसँग अत्यन्त ठूलो रकम बराबरको जग्गा प्राप्त गर्नुभनेको कानुनी दृष्टिकोण, राजनैतिक दृष्टिकोण र नैतिक दृष्टिकोणबाट पनि यो मिल्ने कुरा होईन । यो हाम्रो पार्टीको धारणा हो, मेरो धारणा हो । यो गलत काम हो, यो गर्न हुँदैन । यसले दलहरुप्रति थप नकरात्मक धारणा बनाएको छ,’– उनले भने ।

प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले स्टन्टबाजीमात्रै गरेको र सहकारी ठगी प्रकरणमा कसैलाई पक्राउ नगरेको उनले बताए । वर्तमान सरकारले हल्ला नगरी अभियुक्तहरुलाई पक्राउ गर्ने काम गरिरहेको उनले बताए । वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, विधिको शासन कायम गर्न नियमित रुपमा काम गरिरहेको उनले बताए । नेता विश्वकर्माले उजुरी परेकाविरुद्ध अनुसन्धान गर्ने अधिकारीले पक्राउ गर्ने बताए ।

त्यस्तै, सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रचण्ड नेतृत्वको सरकारमा गृहमन्त्री बन्न बालकोट र बालुवाटारमा गएर बिन्त बिसाएको उनको दाबी छ । अरु मन्त्री बनेको भए जतिबेला पनि पक्राउ पर्नसक्ने डरले लामिछाने गृहमन्त्री नै बनेको नेता विश्वकर्माको दाबी छ । लामिछाने गृहमन्त्री बनिसकेपछि स्वार्थको द्वन्द्व हुने भनेर आफूहरुले विरोध गरेको उनले बताए । नेता विश्वकर्माले प्रहरी प्रशासनलाई नियन्त्रणमा राखेको अवस्थालाई कांग्रेसले हेरेर बस्न नसकेको कारण सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय विशेष समिति बनेको उनको भनाइ छ । उक्त समितिको प्रतिवेदनको आधारमा नै अहिले लामिछानेलाई पक्रिएको उनले बताए । त्यस प्रतिवेदनलाई सन्दर्भ सामाग्री मानेर प्रहरीले अनुसन्धान अगाडि बढाउने र जुनसुकै दलका नेताहरु पनि अनुसन्धानको दायरामा आउनुपर्ने उनले बताए । उनले लामिछानेको रिहाईको माग गर्दै भइरहेको प्रदर्शनप्रति आपत्ति जनाए ।

‘पुरानाले केही गरेन, पुरानाहरु भ्रष्ट भए रे । अनि नयाँ मानिसलाई ठगीको आरोप लाग्छ । भएजति सबै त्यो पार्टीका केन्द्रीय कार्य समिति, वडा कार्यसमितिदेखि संघीय संसद्का सबै एक ठाउँमा बसेर ठगलाई रिहाइ गर, ठगलाई रिहाइ गर भनेका छन् । बडा विचित्रको छ,’– नेता विश्वकर्माले भने ।
उनले ऋषिकेश पोखरेल र धनराज गुरुङको बारेमा उजुरी नै नपरेको दाबी गरे । नेता विश्वकर्माले पोखरेल र गुरुङविरुद्ध कतै उजुरी, जाहेरी परेको भए सार्वजनिक गरिदिन आग्रह गरे । कांग्रेसको बटमलाइन प्रचलित कानुनअनुसार सबैलाई एकै प्रकारको कारबाही हुनुपर्ने उनले बताए ।

वर्तमान सरकार हल्ला गर्ने भन्दा, सल्लाह गर्ने र बाहिर चर्चा गर्ने भन्दा खुरुखुरु काम गर्ने दिशामा अगाडि बढिरहेको उनले बताए । नेता विश्वकर्मालले वर्तमान सरकार थिति बसाल्ने प्रक्रियामा अगाडि बढिरहेको दाबी गरे ।