बालुवाटार सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’लाई पूर्णता दिइने

बालुवाटार सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’लाई पूर्णता दिइने

काठमाडौं । सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरूले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि गठन गरिएको ‘सर्च कमिटी’ लाई पूर्णता दिने समझदारी गरेका छन् । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बसेको तीन ठूला दलका शीर्ष नेताहरूको बैठकले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि गठन गरिएको ‘सर्च कमिटी’ लाई पूर्णता दिने समझदारी गरेको हो । 

बैठकपछि नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले अघिल्लो सरकारको पालमा गठन भएको ‘सर्च कमिटी’ लाई पूर्णता दिएर सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग (टीआरसी) गठन प्रक्रिया अगाडि बढाउने समझदारी जुटेको बताए । 

‘मुख्य छलफलको विषय शान्ति प्रक्रियाका बाँकी कामलाई टुंग्याउने विषयसँग सम्बन्धित थियो । आयोग गठनसम्बन्धी अघिल्लो सरकारको पालामा सर्च कमिटी गठन गरिएको थियो,’ उनले भने , ‘त्यसलाई पूर्णता दिन बाँकी नै थियो । अहिले त्यसलाई तत्काल पूर्णता दिएर आयोग गठनको प्रक्रिया अगाडि बढाउने बारेमा आज छलफल भयो । त्यो विषयमा सबैको सकारात्मक बुझाई र  एकरूपता नै रहेको छ ।’ 

बस्नेतले एक–दुई दिनभित्रै ‘सर्च कमिटी’ ले पूर्णता पाउने र त्यसलगत्तै आयोग गठनको प्रक्रिया औपचारिक रूपमा सुरू हुने पनि बताए । ‘सर्च कमिटी गठन भएको निश्चित समयभित्र आयोग गठनको काम टुंगिनु पर्ने कानूनी वयवस्था नै छ,’ उनले भने, ‘त्यस कारण कमिटी गठन पछि स्वतः आयोग गठनको प्रक्रिया अगाडि बढ्छ । र निर्धारित समयभित्रै आयोगहरूले पूर्णता प्राप्त गर्छन् ।’

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत, महान्यायाधिवक्ता रमेश बडालको सहभागिता थियो ।