बिहे गर्ने भन्दै बोलाएर युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

बिहे गर्ने भन्दै बोलाएर युवतीमाथि सामूहिक बलात्कार, चार जना पक्राउ

काठमाडौँ । दाङमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार आरोपमा चार जना पक्राउ परेका छन्।

गढवा गाउँपालिका वडा नम्बर ५ चैनपुरका १९ वर्षीय किरण चौधरी, २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दीप चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी ईश्वर थापाका अनुसार किरणले ती युवतीलाई विवाह गर्ने बहाना बनाएर मंघरस्थित ह्युमपाइप बनाउने घरमा बोलाएका थिए।

किरणलाई भेट्न बुधबार जाँदा त्यहाँ अन्य तीन जना पनि बसिरहेका थिए। उनीहरूले सामूहिक बलात्कार गरेपछि बिहीबार बिहान युवती इलाका प्रहरी कार्यालय गढवामा पुगेकी थिइन्। इलाका प्रहरी कार्यालयमा पुगेर उनले प्रहरी निरीक्षक कालिका कार्कीसँग घटनाबारे जानकारी गराइन्।

प्रहरी निरीक्षक कार्कीका अनुसार किरण र ती युवती दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए। विवाह गर्ने प्रलोभनमा पारेर किरणले आफूमाथि बलात्कार गरेको र अन्य पुरूषले पनि बलात्कार गरेको प्रहरीसमक्ष उनले बयान दिएकी छिन्।

डिएसपी थापाका अनुसार घटना किरणकै योजनामा भएको हो। ‘दिउँसो उनीहरू चारै जनाले सँगै बसेर रक्सी खाएको र सोही क्रममा सामूहिक बलात्कारको योजना किरणकै सल्लाहमा बनेको खुल्छ,’ उनले भने।

पक्राउ परेका चारै जनालाई इलाका प्रहरी कार्यालय गढवाको थुनुवा कक्षमा राखिएको छ। उनीहरूविरूद्ध अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। साथै पीडित युवतीलाई काउन्सेलिङ गर्ने काम भइरहेको छ।

छुटाउनुभयो कि ?