काठमाडौं । अमेरिका निवासी नेपाली चेली ममता काफ्ले बेपत्ता भएको दुई महिना पुगिसकेको छ । तर, अमेरिकी प्रहरीले उनको लाश र सास दुवै फेला पार्न सकेको छैन ।
ममतालाई उनकै श्रीमान नरेश भट्टले आततायीरुपमा हत्या गरेकोमा नेपाली समूदाय स्पष्ट भइसकेको छ । नरेशले ममताको शरीर टुक्राटुक्रा पारी फरक फरक स्थानमा लगेर डिस्पोज गरेको सरकारी वकिलहरुले दावी गरेका छन् । उनीहरुले अघिल्लो सुनवाइमा केही अकाट्य प्रमाणहरु पेश गरेका थिए ।
यता प्रहरी भने अझै पनि अनुसन्धानकै क्रममा छ । नरेशलाई पक्राउ गरेर हिरासतमा राखिएको भए तापनि उनीविरुद्ध हत्या अभियोग छैन । ‘शव लुकाएको’ कमजोर अभियोग लगाएर उनलाई थुनामा राखिएको हो । यो अभियोगमा दोषी प्रमाणित भएमा पनि सजाय खासै कडा हुँदैन । ममताका आफन्तजन तथा समग्र नेपाली समूदाय नरेशमाथि हत्या अभियोग दायर हुने आशा र प्रतिक्षामा छन् ।
नरेशले गरेको गुगल सर्च, घरभित्र रगतका निशानादेखि टकपटक कारमा लगेर पोकाहरु मिल्काएको सीसीटीभी फुटेजले हत्या प्रमाणित हुने उनीहरुको विश्वास छ । अब लाश भेटिने सम्भावना क्षीण रहेकाले प्राप्त प्रमाणहरुकै आधारमा मुद्दा हाल्नुपर्ने देखिन्छ ।
तर, प्रहरी भने अझै ठोस प्रमाण खोजिरहेको छ । गत शनिबार ममताको न्यायका लागि आवाज उठाइरहेका नेपालीहरुबीच मनासस प्रहरी प्रमुख मारियो लुगोले संक्षिप्त सम्बोधन गरे । उनले आफूहरु अझै पनि अनुसन्धानमा रहेको बताए ।