एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु, शव एम्बुलेन्समै गनाउन थाल्याे

एम्बुलेन्स बाटोमै रोकिंदा २ बिरामीको मृत्यु, शव एम्बुलेन्समै गनाउन थाल्याे

काठमाडौं । पहिरोका कारण एम्बुलेन्स बीच बाटोमै रोकिंदा बाटोमै दुई बिरामीको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा सिन्धुलीको कमलामाई नगरपालिका–४ घरभ भएकी ९४ वर्षीया टीकाकुमारी भुजेल र महोत्तरीको बर्दिवास नगरपालिका–८ का ४५ वर्षीय मानबहादुर सिंजाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार उनीहरू शुक्रबारदेखि नै सिन्धुलीको सुनकोशी गाउँपालिका-१ दुम्जास्थित टुपी डाँडा भन्ने ठाउँमा एम्बुलेन्स अड्किएका थिए । मृत्यु हुने बिरामी मध्ये सिंजाली मिर्गौलाको बिरामी रहेको पाइएको एसपी काफ्लेले बताए । भुजेललाई बा२१च ७५२३ नम्बरको र सिंजालीलाई ज१च १७०८ नम्बरको एम्बुलेन्समार्फत उपचारका लागि काठमाडौं ल्याइँदै थियो ।

बाढी र पहिरोका कारण एम्बुलेन्सहरू बीचबाटोमै फसेपछि बिरामीको मृत्यु हुँदा आफन्तहरू समेत अफ्ठेरोमा परेका छन्। बिरामीको समयमा उपचार हुन नसकेर मृत्यु भएको र मृ्त्यु भएपछि पनि समयमा शव निकाल्न नसक्दा एम्बुलेन्समै गनाउन थालेको एम्बुलेन्स चालकहरू बताउँछन्।

एम्बुलेन्स चालक सुमन तामाङका अनुसार बिपी राजमार्गमा पहिरो खसेपछि बिहीवारदेखि बीचबाटोमै अलपत्र पर्दा बिरामीको मृत्यु भएको र तीनदिनदेखि शव निकाल्न नसक्दा एम्बुलेन्समै शव गनाएर दुर्घन्धित हुन थालेको छ।