अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउने

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउने

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको अपहरण तथा हत्यासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ।

अदालतको संवैधानिक इजलासमा सापकोटाविरुद्धको मुद्दाको निर्णय सुनुवाइका लागि पेशी तोकिएको छ। यसअघि सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने मिति पटकपटक तोकिए पनि संवैधानिक इजलासले निसुको मिति सार्दै आएको छ। काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको आरोप सापकोटामाथि छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत,सपना प्रधान मल्ल,प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले सापकोटाविरुद्ध मुद्दाको निर्णय सुनाउने भएको हो।

संवैधानिक इजालसमा सापकोटाविरुद्ध तीनवटा मुद्दा छन्।  अर्जुनकी पत्नी पूर्णमाया लामा,कनकमणि दिक्षीत र सुशिल प्याकुरेलसहित ८ जनाले सापकोटाविरुद्ध मुद्दा दायर गरेका थिए। विसं २०६२ वैशाख १६ गते तत्कालीन माओवादीको अपहरणमा परेका लामाको दुई महिनापछि शव फेला परेको थियो। 

लामाकी पत्नी पूर्णमायाले आफ्ना श्रीमानको हत्यामा नेता सापकोटा संलग्न रहेको उल्लेख गर्दै विसं २०६९ मङ्सिर ७ गते जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरेकी थिइन्। सोही मुद्दाको पुनरावेदन सर्वोच्चमा आएको हो। 

त्यसअघि विसं २०७२ चैत २२ गते सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको संयुक्त इजलासले मुद्दा संवैधानिक इजलासमा हेरिने आदेश दिएको थियो।    

उक्त आदेशपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा,न्यायाधीशहरू दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले नेता सापकोटाविरुद्ध द्वन्द्वकालमा काभ्रेका अर्जुन हत्याको घटनामा उक्त आयोगमा परेको उजुरीको प्रतिलिपी मगाउन आदेश जारी गरेको थियो।