जेडब्लुसीको बैठक काठमाडौँमा शुरु

जेडब्लुसीको  बैठक काठमाडौँमा शुरु


काठमाडौं: नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी (एमओयू) को कार्यान्वयनमा सहजीकरण गर्न दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूह (जेडब्लुसी) को पहिलो बैठक आजदेखि काठमाडौँमा शुरु भएको छ ।

दुई देशबीच भएको समझदारीको प्रभावकारी कार्यान्वयन, कामदार भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषयलाई बैठकले टुङ्ग्याउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

दुई दिनसम्म चल्ने बैठकले श्रम समझदारीलाई कार्यान्वयन गर्न आवश्यक प्राविधिक विषयलाई अन्तिम रुप दिने मन्त्रालयका उपसचिव दीपक ढकालले जानकारी दिए । बैठकमा छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व श्रम मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले गरेका छन् भने युएईका तर्फबाट त्यहाँका मानव संसाधन मन्त्रालयको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका निर्देशक अब्दुल्लाह अल नुवाइमीले गरेका छन् ।