श्रीलंकामा वामपन्थी नेता दिसानायके राष्ट्रपति बन्ने

श्रीलंकामा वामपन्थी नेता दिसानायके राष्ट्रपति बन्ने

कोलम्बो । श्रीलंकामा आम निर्वाचनमा निवर्तमान राष्ट्रपति रनिल विक्रमसिंघेलाई वामपन्थी नेता अनुरा कुमारा दिसानायकेले उछिनेका छन् ।

दिसानायकेले शानदार जित हात पारेका छन् । उनी श्रीलंकाका आगामी राष्ट्रपति हुनेछन् । श्रीलंकामा १० औं राष्ट्रपति चयन गर्न सेप्टेम्बर २१ मा मतदान भएको थियो ।हिजै साँझ ५ बजेदेखि मतगणना शुरु भएको थियो । १ करोड ७० लाख मतदाताहरुमध्ये करीब ७५ प्रतिशत राष्ट्रपतिको निर्वाचनमा मताधिकार प्रयोग गरेका थिए । सन् २०१९ को नोभेम्बरमा भएको पछिल्लो निर्वाचनमा ८३ प्रतिशत मतदान भएको थियो । यो अहिलेसम्मकै धेरै थियो ।

श्रीलंकाको निर्वाचन आयोगको आकडाअनुसार वामपन्थी नेता अनुरा कुमारा दिसनायकेले ५२ प्रतिशत मत पाएका छन् । दिसानायके नेशनल पीपुल्स पावर (एनपीपी) गठबन्धनका उमेदवार हुन् । १६ प्रतिशत मात्रै मत पाएर निवर्तमान राष्ट्रपति रनिल विक्रमसिंघे तेस्रो स्थानमा छन् । साजिश प्रेमदासा २२ प्रतिशत मतसहित दोस्रो स्थानमा छन् । प्रेमदासा एक पटक फेरि मुुख्य प्रतिपक्ष बन्नेछन् ।

रनिलका विदेशमन्त्रीले निर्वाचनमा रनिलको हार स्वीकार गरेका छन् । गएको निर्वाचनमा दिसानायकेको एनपीपीले ३ प्रतिशत मात्रै मत पाको थियो । महिन्दा राजापाक्षका छोरा नमल राजापाक्ष यस निर्वाचनमा चौथो स्थानमा समेटिएका छन् ।

सन् २०२२ को आर्थिक संकटयता यो श्रीलंकामा भएको पहिलो निर्वाचन हो । २०२२ को आर्थिक संकटको समयमा गोतबाया राजापाक्षे सरकारविरुद्ध बृहत स्तरमा जनविद्रोह भएको थियो । प्रदर्शनकारीहरू कोलम्बोमा रहेको राष्ट्रपतिको निवासमा घुसेका थिए । त्यसपछि गोतबाया देश छाडेर भाग्न बाध्य भएका थिए । त्यतिबेला रनिलले देशको बागडोर सम्हालेका थिए ।