तीव्र गतिका २ मोटरसाइकल आपसमा ठोकिँदा दुवै चालकको मृत्यु

तीव्र गतिका २ मोटरसाइकल आपसमा ठोकिँदा दुवै चालकको मृत्यु

बाँके । नारायणपुर हुलाकी सडकअन्तर्गत राप्तीसोनारी गाउँपालिका–४ लालपुरमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन्। 

दुर्घटनामा परी गम्भीर घाइते भएका सोही गाउँपालिकाको वडा नम्बर ४ निवासी ३७ वर्षीय रामशरण थारु र वडा नम्बर ३ निवासी १९ वर्षीय वसन्त थारुको उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायव निरीक्षक भद्रसिंह वलीले जानकारी दिए। 

रामशरणले चलाएको भे १२ प ३१९५ नंको मोटरसाइकल र वसन्तले चलाएको भे १२ प ४८२८ नंको मोटरसाइकल आपसमा ठोक्किँदा दुवैजना गम्भीर घाइते भएका थिए।  

दुवैको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा रामशरणले चलाएको मोटरसाइकलमा सवार बर्दिया राजापुर नगरपालिका ४ निवासी ३८ वर्षीय अजय थारु र वसन्तले चलाएको मोटरसाइकलमा सवार वडा नं ३ खैरनी निवासी सञ्जय थारु र सङ्गीन थारु घाइते भएका छन्। 

घाइतेहरूको  शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।