लागुऔषध बिक्री गर्न साधुको भेष : तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ

लागुऔषध बिक्री गर्न साधुको भेष : तीन किलो चरेससिहत भारतीय नागरिक पक्राउ

वीरगन्ज । वीरगन्जबाट प्रहरीले लागुओैषध चरेससहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको आगराको कुडोल फतेहवादका ४२ वर्षीय गोपाल गिरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयास्थित डम्पिङ्ग साइडमा लागुओैषधको खरिदबिक्री भइरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले त्यहाँ शंकास्पद अवस्थामा हिँडिरहेका साधुको भेषमा रहेका गिरीलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो । त्यसक्रममा गिरीले बोकेको प्लास्टिकको झोलाबाट २ किलो ९६० ग्राम चरेस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए।

चरेससहित पक्राउ परेका गिरीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीविरुद्ध लागुओैषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए।