प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् । 

हिंसा शब्दको विवाद नमिलेपछि हिजोको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । तर आज माओवादीहरु बैठक चल्न दिन सकारात्मक भएपछि ओलीले सम्बोधन गर्न लागेका हुन् । 

भदौ १२ को प्रतिनिधि सभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरुले त्यसमा विरोध जनाउँदै आएका छन् । 

यसैबीच आजै रातिबाट संसदको वर्षे अधिवेशन अन्त्य हुने भएको छ ।  हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले संसदको वर्षे अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि संसदको वर्षे अधिवेशन अन्त्य हुने छ ।

आज सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले छानबिन प्रतिवेदन पेश गर्ने  सम्भावित कार्यसूची छ । यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७९/८० पेश गर्ने सम्भावित कार्यसूची समेत छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको विधायक विधेयक २०८० माथि छलफल गरियोस् भनी प्रस्तता प्रस्तुत गर्ने छन् । कानुन मन्त्रीले नै विधायन विधेयक २०८१ पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ ।