इन्धन ट्यांकर विस्फोट हुँदा २४ जनाको मृत्यु

इन्धन ट्यांकर विस्फोट हुँदा २४ जनाको मृत्यु

हाइटी। दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा इन्धन ट्यांकर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

मिरागोएनमा भएको विस्फोटमा परी करिब ४० जना घाइते छन् । केही घाइतेको शरीरका अधिकांश भाग जलेको हाइटीको नागरिक सुरक्षा निकायका प्रमुख इमानुएल पियरेले एएफपीसँग बताए ।

पियरेका अनुसार, उद्धारकर्ताले विस्फोटस्थलनजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको संख्या २४ पुगेको हो । शनिबार दिइएको जानकारीमा दुर्घटनाका कारण १६ जनाको मृत्यु भएको जनाइएको थियो ।

घाइतेलाई राजधानी पोर्ट–ओ–प्रिन्सबाट करिब १०० किलोमिटर पश्चिममा रहेको बन्दरगाह सहर मिरागोएनस्थित सेन्ट थेरेसी अस्पतालमा उपचारका निम्ति लगिएको छ । ६ जनालाई पोर्ट–ओ–प्रिन्सको विशेषज्ञ अस्पतालमा लगिएको छ ।

अरू १३ जनाको शरीरका ८० प्रतिशतभन्दा बढी भाग जलेको कारण यातायात असम्भव भएकाले सेन्ट थेरेसी अस्पतालमा नै उपचार भइरहेको छ ।