सहकारी ठगी छानबिन संसदीय छानबिन समितिमा प्रधानमन्त्री ओली

सहकारी ठगी छानबिन संसदीय छानबिन समितिमा प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा उपस्थित भएका छन्।

समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि शनिबार प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको छ। प्रधानमन्त्रीसँगको छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ।

समितिले यस अघि शुक्रबार मात्र गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर सहकारी ठगी गरेर फरार व्यक्तिहरूको खोजविन बारे भएको प्रगति बारे जानकारी लिएको थियो। विदेशमा फरार व्यक्तिहरू कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशित गरेको छ।

समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ। गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको म्याद थप गराएको थियो।