उपसभामुख रानालाई हटाउने निर्णय गर्न हच्कियो एमाले

उपसभामुख रानालाई हटाउने निर्णय गर्न हच्कियो एमाले

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई हटाउने सन्दर्भमा पार्टी निश्कर्षमा पुग्न बाँकी रहेको बताएका छन्। शुक्रबार सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यस विषयमा एमालेले अहिले केही निर्णय नगरेको बताएका हुन्।

‘अहिले के गर्ने भन्ने कुरामा हामी निश्कर्षमा पुगिसकेका छैनौं। यो संसदको मामिला हो। संसदलाई कसरी मर्यादित बनाउने भन्ने कुरामा संसदीय दलले र संसदले गर्ने काममा पार्टीको पूर्ण समर्थन रहन्छ,’ उनले भने।

उपसभामुख रानामाथि उठेका प्रश्नहरुका बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले र उपसभामुख राना स्वयंले स्पष्ट गर्नुपर्छ भन्ने एमालेको मान्यता रहेको महासचिव पोखरेले बताए। उपसभामुख रानाका विषयमा अहिले आइरहेका कुरा सत्य हुन् भने उनी पदमा बस्न उपयुक्त नरहेको उनले बताए।

एमालेले अहिलेसम्म उपसभामुख रानाका बारेमा आइरहेको विषय सत्य हो कि होईन भनेर निर्क्यौल नै गर्न सकेको छैन । यता नेपाली कांग्रेसले आगामी भदौ ३० गते नै उपसभामुख रानालाई हटाउन संसद्मा प्रस्ताव पेश गर्नुपर्ने दवाब दिइरहेको स्रोतको दाबी छ । रानालाई पदबाट हटाएर कांग्रेसबाट उपसभामुख बनाउने समझदारी भएको छ। सोही कारणले पनि यस विषयमा कांग्रेसले जोडबल गरिरहेको छ । यता उपसभामुख रानालाई हटाउन दुई तिहाइ बहुमत नपुग्ने अवस्था आउनसक्ने आँकलन गरेको एमाले भने हच्किएको छ।