संवैधानिक परिषद् बैठक अनिर्णित

संवैधानिक परिषद् बैठक अनिर्णित

काठमाडौं । संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो।

संवैधानिक परिषद बैठकमा प्रधानन्यायाधीश सिफारिसका लागि माथिल्लो वरियतामा रहेका ८ जना न्यायाधीशहरुको नाममाथि छलफल भएको थियो।

पहिलो नम्बरमा रहेका न्यायाधीश प्रकाशमान सिंहको नाममाथि छलफल बढी केन्द्रीय बनेको उपसभामुख इन्दिरा रानाले बताइन्। ‘उहाँको नाममा लगभग सहमति छ। तर, आजै हतारमा निर्णय नगरौं भन्ने सल्लाह भयो। दुई दिनपछि फेरि बैठक बसेर निर्णय हुन्छ,’ उनले भनिन्।

प्रधानमन्त्री अध्यक्ष हुने सो परिषद्मा विपक्ष दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ।