काठमाडौं। संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने बताएका छन्। उनले आफू सो देशको राजदूतमा नियुक्त भए अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउने प्रतिबद्धता जनाए। आज भएको संसदीय सुनुवाई समितिमा उनले यस्तो बताएका हुन्।
यस्तै, उनले नेपालका प्रधानमन्त्रीलाई अमेरिकाको भ्रमणको क्रममा त्यहाँको संसद्मा सम्बोधन गर्ने वातावरण बनाउनेपनि योजना सुनाए। उनले नेपालको संघीय संसद् र अमेरिकी कांग्रेसबिच भ्रमणको आदानप्रदानका लागि आवश्यक समन्वय विश्वास दिलाएका छन्। रेग्मी नेपाल सरकारको पूर्व मुख्यसचिव हुन्।
उनले भने, ‘संयुक्त राज्य अमेरिकाको विश्वास, सद्भाव र सहकार्य दुईटैलाई बढाएर लिएर जानका लागि, अझ गहिरो बनाउनका लागि, अझ सुदृढ र प्रभावकारी बनाउनका लागि मैले मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रयास गर्नेछु। द्विपक्षिय सम्बन्धलाई राम्रो बनाउनको लागि उच्चस्तरका भ्रमणहरुका आदान-प्रदानहरु, प्राविधिकहरुका बिचको आदान-प्रदानहरु विभिन्न तहका आदान–प्रदानले महत्वपूर्ण भुमिका निर्वाह गर्ने हाम्रो अनुभव छ। र प्रतिवद्धताहरुलाई नविकरण गर्नका लागि र द्विपक्षीय हितका नयाँ विषयहरुमा प्रवेश गर्नका लागि यस्ता भ्रमणहरुको शिखर महत्व रहने गर्दछ। अहिलेसम्म अमेरिकी राष्ट्रपतिहरुबाट नेपालको भ्रमण र नेपालको संसदलाई सम्बोधन गर्ने एउटा सन्दर्भ हामीले साकार पार्न सक्यौँ भने नेपालको छवि, नेपालको विश्वसनीयता र नेपालको अझ समृद्धिको ढोका मार्गप्रशस्त गर्नका लागि योगदान पुग्छ की ? अमेरिकाको राष्ट्रपतिलाई हाम्रो देशमा भ्रमण गराउन सक्दा राम्रो हुन्छ कि भन्ने मलाइ लागेको छ। त्यसको लागि ग्राउन्ड वर्क गर्नका लागि म आफू उत्सुक छु । संसदको तहबाट पनि दुई देशको भ्रमणको आदान–प्रदान गराउनुपर्छ । अमेरिकाको अर्थतन्त्रलाई हाम्रो अर्थतन्त्रसँग जोडेर हाम्रो हितमा अधिकतम मात्रामा स्रोत, साधन परिचालन गर्नको लागि मैले आफूलाई केन्द्रित गर्ने काममा लाग्ने विश्वास दिलाउन चाहन्छु।’