सशस्त्र द्वन्द्व हिंसा थियो कि जनयुद्ध ? एमाले–माओवादी जुहारीपछि प्रतिनिधिसभा बैठक स्थगित

सशस्त्र द्वन्द्व हिंसा थियो कि जनयुद्ध ? एमाले–माओवादी जुहारीपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । माओवादी सशस्त्र द्वन्द्व ‘हिंसा’ थियो कि ‘जनयुद्ध’ भन्ने विवादमा प्रतिनिधिसभा फेरि फस्दा सदनको नियमित कारबाही अवरुद्ध भएको छ ।

अघिल्लो साता सदनमा बोल्ने क्रममा एमाले सांसद योगेश भट्टराईले माओवादी हिंसाका कारण जलविद्युत आयोजनाहरूको काम अघि बढ्न नसकेको भनेपछि माओवादीले आपत्ति जनाएको थियो ।

त्यसक्रममा भट्टराईले व्यक्त गरेको शब्द संसदको रेकर्डबाट हटाउन माओवादीले माग गरेको थियो । सभामुख देवराज घिमिरेले संसद सचिवालयलाई सो शब्द संसदीय मर्यादाभित्र पर्ने वा नगर्ने छानबिन गर्न निर्देशन दिएका थिए । सभामुख घिमिरेले संसदको नियमाली, कार्यव्यवस्था परामर्श समितिको बैठक र संसद सचिवालयको सुझावका आधारमा उक्त शब्द असंसदीय नभएको जानकारी गराएका थिए ।

सचिवालयले बुधवार हिंसा शब्द संसदको अभिलेखबाट हटाउन नपर्ने भनेपछि सभामुखले अबदेखि सदनमा बोल्दा र शब्दहरू प्रयोग गर्दा सचेत रहन दुवै पक्षका सांसदलाई रुलिङ गरेका थिए । तर, माओवादी केन्द्रका सांसदहरूले सभामुखको रुलिङ अश्वीकार गरेपछि सदनको कारबाही अघि बढ्न सकेन ।

बुधवारको बैठकमा सभामुख देवराज घिमिरेले माओवादी हिंसा भन्ने शब्द असंसदीय नभएको भन्दै संसदको रेकर्डबाट हटाउन नपर्ने जानकारी गराएपछि माओवादी प्रमुख सचेक हितराज पाण्डेले आपत्ति जनाए । त्यसपछि माओवादी सांसदले उठेर सभामुखको उक्त निर्णयप्रति आपत्ति जनाए ।

माओवादीले सभामुखको रुलिङलाई अश्वीकार गर्दै सदन चल्न नदिएपछि एमालेका सांसदहरु प्रतिवादमा उत्रिएका थिए । एमालेका रघुजी पन्त र महेश बर्तौलाले माओवादीको सशस्त्र द्धन्द्धका क्रममा हिंसा र मानवताविरोधी अपराधहरु भएको शान्ति सम्झौतामै स्वीकार गरिएको बताएका थिए । माओवादीले सभामुखको रुलिङ समेत नमान्नु गैरसंसदीय अभ्यास भन्दै एमालेले आपत्ति जनाएको थियो

दुवै पक्षका सांसदहरूबीच आरोप(प्रत्यारोप चलेपछि सभामुखले सदनको कारवाही अघि बढ्न नसक्ने भन्दै भदौ ३० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।