प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा विभिन्न विषयका विधेयक र सोसँग सम्बन्धीत प्रतिवेदनहरू पेश हुने कार्यसूची छ । शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयकसम्बन्धी समितिको प्रतिवेदन र महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

आजकै बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले नेपाल राष्ट्र बैंक तेस्रो संशोधन विधेयक, बैंक तथा वित्तीय संस्थासम्बन्धी पहिलो संशोधन विधेयक, सार्वजनिक ऋण व्यवस्थापन विधेयक र धितोपत्रसम्बन्धी पहिलो संशोधन विधेयक पेश गर्ने सम्भावित कार्यसूची छ ।