काठमाडाैं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको समस्या नेताहरुको समस्या भएको बताएका छन्।
सोमवार पार्टी केन्द्रीय कार्यालयमा नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाउँदै उनले यस्तो बताएका हुन्।
उनले सर्वोच्चको सो फैसलाले आम नागरिकहरुमा ठूलो असर परेको भन्दै नागरिकको पीरमर्काप्रति आफ्नो पार्टी संवेदनशील रहेको बताए। उनले जनताका आँखामा आँशु बहेको आफूहरुले देख्न नसक्ने बताए। उनले आफूहरुले जनताको अनुहारमा मुस्कान र जनताको उज्यालो अनुहार हेर्न चाहेको बताए।
कुनैपनि एउटा परिवारलाई पीडा हुँदा आफूलाई पोल्ने गरेको भन्दै न्यायपालिकाले फैसलाको पुनरावलोकन गर्नुपर्ने बताए। उनले आफू प्रधानमन्त्री भएको बेलामा ठूलाठूला निर्णयहरु गरेको दाबी गर्दै सो निर्णयले कतिपय नेताहरुको खुट्टा काँप्न थालेको बताए।
उनले भने, ‘अहिले तपाईं हामी जुन पीरमर्कामा छौँ, त्यो पीरमर्कापटी हाम्रो पार्टी संवेदनशिल छ। जनताको समस्या हाम्रो पनि समस्या हो। जनताका आँखामा आँशु बहेको हामी देख्न सक्दैनौं। जनताको अनुहारमा हामी मुस्कान हेर्न चाहन्छौं। उज्यालो अनुहार हेर्न चाहन्छौं। एउटा परिवारलाई पनि पीडा हुन्छ भने त्यसले हामीलाई पोल्छ। पोल्नु पर्दछ । तब नै हामी जनताका सेवक हुन सक्दछौँ । जनताको हितैसी हुनसक्छौँ । जनताको सेवामा समर्पित छौँ भनेर भन्नसक्छौँ । आजसम्म जनताले हामीलाई पत्याएको कारण पनि त्यही हो । अब सवाल के छ भने अरुले गरेर हुँदैन, जसको हातमा कलम छ, उसैले गर्नुपर्छ । जसको हातमा अधिकार छ, उसैले गर्नुपर्छ । म प्रधानमन्त्री भएको बेलामा अरुले गरिदेओस् भनेर हुने बेला थिएन । बरु गर्दिन भनेका थिए मलाई । तपाईं नगर्नुस्, म गर्दिन्छु । कतिपय नेताहरुको खुट्टा काँप्न थालेको थियो । मैले खुट्टा काम्नेहरु कामिरहुन् । अघि बढिन्छ भनेर ठूला निर्णय गरेको थिएँ । चाहे त्यो विदेशी संस्थाहरुलाई नेपालबाट विदा गर्नेकुरा होस्, कतिपय मुलुकको बिरुद्धमा लागेका नेताहरुलाई थान्को लगाउने कुरामा होस्, दृढताका साथ गरेको थिएँ । हामीले आवाज उठाउनसक्छौँ, निर्णय गर्न सक्दैनौँ । न्यायपालिकाको काम हामीले गर्नु हुँदैन।’
अध्यक्ष नेपालले संसदको माध्यमबाट अहिलेको सरकारलाई झक्झक्याउने काम गरिरहेको बताए।