काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकले सरकारलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले सरकारको कामलाई प्रभावकारी बनाएर जाने निर्णय गरेको हो ।
यस्तै बैठकमा गठबन्धनलाई एकताबद्ध बनाउनेबारे छलफल भएको जनमत पार्टीका नेता अब्दुल खानले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको भावना विपरीत नबोल्ने बताएका छन् ।
साथै दलहरुबीच प्रतिनिधि सभालाई प्रभावकारी बनाउने र न्युनतम साझा कार्यक्रमबारे पनि छलफल भएको बताइएको छ ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेकपा एमाले र नेपाली काँग्रेसबीच सरकार बन्ने बेलामा भएको सात बुँदे सहमतिको सेरोफेरोमा रहेर विस्तृत रुपमा सरकारका न्युनतम साझा कार्यक्रम बनाउने बताए । उनले सात बुँदे सहमतिलाई अझ विस्तृत गर्नेगरी सरकारको न्युनतम साझा कार्यक्रम आउने बताए ।