एकीकृत समाजवादी टुक्रिन लागेकै हो ?

एकीकृत समाजवादी टुक्रिन लागेकै हो ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) विभाजन हुने चर्चा चलेको छ । कतिपय असन्तुष्ट नेताहरूले पार्टी विभाजन गर्न लागेको चर्चाका बीचमा नेताहरू त्यसमा सत्यता नभएको बताउँछन् ।

एकीकृत समाजवादीको १०औं महाधिवेशन हालै सम्पन्न भएको छ । सम्पन्न महाधिवेशनमा केही नेता सोचेजस्तै जिम्मेवारी (पद)मा नपुगेपछि विपक्षीले एकीकृत समाजवादी पार्टी फुट्न लागेको ‘हल्ला’ चलाएको नेताहरू बताउँछन् ।

एकीकृत समाजवादीका उपाध्यक्ष धर्मनाथ साहले पार्टी विभाजनको हल्ला विपक्षी दलले चलाएको आरोप लगाए । उनले पार्टीको हालै महाधिवेशन सम्पन्न हुँदै संगठन निर्माणमा लागेको पार्टी फुट्ने विषयमा सत्यता नभएको बताए ।

‘यो केवल विरोधीहरूले चलाएको हल्ला मात्रै हो, एकीकृत समाजवादी फुट्छ भन्ने कुरामा सत्यता छैन, हामी महाधिवेशन गरेर संगठन निर्माणमा जुटेका छौं,’ साहले भने, ‘पार्टी पहिलेभन्दा झन् बलियो बन्दै गइरहेको छ, छिट्टै जिल्ला, प्रदेश अधिवेशन गरेर एक मजबुत पार्टी निर्माणमा सबै जुटेका छौं ।’

यसैगरी, अर्का उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीभित्र कुनै अन्तरविरोध नरहेको बताए । व्यक्तिगत रूपमा कसैको असन्तुष्टि रहे पनि संगठित रूपमा कसैको पनि असन्तुष्टि नरहेको उनको भनाइ छ । ‘व्यक्तिगत रूपमा मान्छेको असन्तुष्टि होला, संगठित रूपमा असन्तुष्टि कसैको पनि छैन, सबैसँग कुराकानी पनि भइरहेकै छ,’ उपाध्यक्ष खतिवडाले भने, ‘अलिअलि तनाव त छ, तर त्यो तनाव व्यवस्थापन गर्न सकिने ढंगले संवाद भइरहेको छ ।’

खतिवडाले पार्टी फुट्ने कल्पना पनि कोही कसैले नगरेको बताए । उनले पार्टीमा गुटगत विवाद नै नभएको र शीर्ष नेताहरूले नै मिलेर पार्टी बलियो बनाउने अभियानमा लागेकाले कसले पार्टी फुटाउने भन्दै प्रश्नसमेत गरे ।

‘हाम्रो पार्टीमा दुई जना पूर्वप्रधानमन्त्री हुनुहुन्छ, कमरेड माधवकुमार नेपाल अहिले पार्टी अध्यक्ष र झलनाथ खनाल कमरेड सम्मानित नेता हुनुहुन्छ, घनश्याम भुषाल कमरेड महासचिव हुनुहुन्छ, अरू शीर्ष नेताहरू पनि विभिन्न जिम्मेवारीमा हुनुहुन्छ, उहाँ सबैको चाहना एउटै भनेको पार्टीलाई बलियो बनाएर कसरी अगाडि बढ्ने भएको र मिलेर सबै निर्णय गरिरहेकाले कसले पार्टी फुटाउँन लागेको हो ?’ प्रश्न गर्दै उपाध्यक्ष खतिवडाले भने, ‘जहाँ शीर्ष नेताहरूले सल्लाहमै, सबैको चाहना बुझेरै निर्णय एकमतले गर्नुहुन्छ भने पार्टी फुट्ने होइन कि मजबुत तरिकाले संगठित भई अगाडि बढ्ने दिशामा बढेको छ ।’

पार्टीको आन्तरिक निर्वाचनमा कोही नेता विजयी भएको र कोही नेता पराजय भएको विषयलाई लिएर तन्काउँदै विपक्षीहरूले पार्टी फुट्न लागेको भन्ने हल्ला गरेको उनले बताए । ‘निश्चित छ यदि निर्वाचन हुन्छ भने कोही पराजित हुने त कोही विजयी हुने नै हो, महाधिवेशनमा निर्वाचित हुन नसकेका एकाध नेताहरू असन्तुष्ट हुनुहोला, हामीले त्यसलाई व्यवस्थापन गर्नेछौं,’ उपाध्यक्ष अतिवडाले भने, ‘पार्टीले ठोस जिम्मेवारी दिएर संगठन निर्माणतर्फ अगाडि बढ्छ, त्यसैलाई तन्काएर पार्टी फुट्न लागेको भन्ने कुरामा सत्यता छैन् ।’

एकीकृत समाजवादीका नेताहरूले पार्टी फुटको हल्ला मात्रै भएको टिप्पणी गर्दै गर्दा केही नेताहरू विभाजनको आन्तरिक तयारीमा जुटेको चियोचर्चा भइरहेको छ । पार्टी महाधिवेशनमा भनेजस्तै पद नपाएको र पार्टीको आन्तरिक निर्वाचनमा पराजित केही नेताहरू पार्टी फुटाउने अभियानमा लागेका बताइएको छ ।

प्रतिनिधिसभामा १० सांसद रहेको एकीकृत समाजवादीमा केही सांसद पार्टी फुटाउने अभियानमा लागेको चर्चा भइरहेको छ । यस्तै, पार्टीको पदाधिकारी र पोलिटब्युरो सदस्यमा निर्वाचित हुन नसकेका केही नेतासमेत सो अभियानमा रहेका बताइएको छ ।