एजेन्सी ः अफ्रिकी मुलुक कंगोमा सरकारी सेनाको आक्रामक कारबाहीको विरोध गर्दै युगान्डाली विद्रोही समूहले १४ जना सर्वसाधारणको हत्या गरेका छन् ।
स्थानीय एक सरकारी अधिकारीका अनुसार उक्त घटना शुक्रबार रातिदेखि शनिबार बिहानसम्मको अवधिमा भएको हो । बदलाको भावनाबाट गरिएको आक्रमणबाट विगत दुई सातामा ३० जनाभन्दा बढी सर्वसाधारणको हत्या भइसकेको छ ।
यी घटनाहरु कंगोको उत्तरी किभु प्रान्तको बेनी क्षेत्रका दुई स्थानमा भएको छ । यहाँ कंगोको सरकारी सेनाले इस्लामिक जिहादी विचारधाराबाट उत्प्रेरित लडाकू विरुद्ध आक्रामक सैन्य कारबाही गर्ने गत महिना घोषणा गरेको थियो । यस क्षेत्रमा छिमेकी मुलुक युगान्डाका विद्रोहीहरुको समूह एलाइड डेमोक्रेटिक फोर्सेस ९एडिएफ० सक्रिय छ ।
बेनीका प्रशासक डोनाट किबवानाले आक्रमणकारीले स्थानीयबासीमाथि धारिलो हतियारले आक्रमण गरेका र घर एवं पसलमा लुटपाट गरेको जानकारी दिनुभयो ।
सरकारी फौजले गत अक्टोबर ३० मा यस क्षेत्रमा सक्रिय लडाकूहरुलाई विस्थापित गर्न ठूलो सैन्य कारबाही आरम्भ गर्ने घोषणा गरेको थियो ।
कंगोमा सन् १९९५ देखि सक्रिय रहेको मानिएको एडिएफले विगत पाँच वर्षको अवधिमा मात्र बेनी क्षेत्रमा सयौं, हजारौं सर्वसाधारणको हत्या गरिसकेको छ । इस्लामिक स्टेट समूहले एडिएफले गरेका कतिपय आक्रमणको आफूले जिम्मेवारी लिएको छ ।