प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न– माओवादी युद्ध महान् थियो भने किन छोडेको ?

प्रचण्डलाई प्रधानमन्त्री ओलीको प्रश्न– माओवादी युद्ध महान् थियो भने किन छोडेको ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाको महिमा मण्डन नगर्न माओवादी केन्द्रलाई चेतावनी दिएका छन् । शनिबार काठमाडौंमा २१औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न आग्रह गरे । देशमा हिंसा रहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने अवस्थाअनुसार भएको बताए ।

“माओवादी युद्ध महान् थियो भने किन छोडेको, किन शान्ति प्रक्रियामा आएको” प्रधानमन्त्री ओलीले प्रश्न गरे । महान जनयुद्ध भएको भए सफल हुनुपर्ने भन्दै जनआन्दोलन फेल नहुने बताए ।

उनले जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहरका लागि निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरू लाद्न खोजे देशले स्वीकार नगर्ने बताए । झापा आन्दोलनताका आफूले लिएका नीतिहरू पनि सही नभएकाले बदलेर आएको भन्दै माओवादीले पनि हिंसा गरेको र हिंसाको बाटो बदलेर शान्तिप्रक्रियामा आएको उल्लेख गरे ।

“हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुपर्‍यो । केही मानिसहरूले त्यसलाई महिमा मण्डन गरेको सुन्छु । त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो ? किन आउनुपर्‍यो शान्ति प्रक्रियामा ? त्यस्तो महान् जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो । जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन,” प्रधानमन्त्री ओलीले भने, “जनआन्दोलन हो भने पनि त्यो फेल हुँदैन । जन भइसकेपछि त्यो फेल हुँदैन । अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरू लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ । बाटो बदल्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले हिंसाको बाटोतिर पुनः जानु नहुने पनि बताए ।