काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि जारी रहेको छ। केन्द्रीय कार्यालय च्यासलमा मंगलबारबाट सुरु भएको बैठकमा महासचिव शंकर पोखरेलले पेश गरेको पार्टीको वार्षिक कार्ययोजनामाथि छलफल भइरहेको छ।
बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ को आवधिक निर्वाचनमा एमालेले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट गरेका थिए। त्यसका लागि पार्टीको एकल बहुमत ल्याउने गरी काममा जुट्न पार्टीका नेताहरूलाई निर्देशन पनि दिएका छन्।
मंगलबार बसेको पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचन र २०८४ को निर्वाचनका लागि पार्टीलाई बलियो बनाउन निर्देशन दिए ।
सामाजिक अराजकता निम्त्याएर भाँडभैलो गराउने माओवादी अध्यक्ष प्रचण्डको चाहना पूरा नहुने ओलीको दाबी थियो । बैठकमा ओलीले भनेका थिए, ‘विद्रोह गराउने, सामाजिक अराजकता फैलाउने प्रयास भइरहेको छ तर यो सफल हुँदैन ।’
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बंगलादेश र श्रीलंका हुनसक्ने अभिव्यक्ति सत्ता बाहिर निस्किएपछिको पीडामात्र भएको बताए । ‘सरकारमा भइञ्जेल आफैं उपद्रो गर्ने, अनि अहिले बाहिर निस्केपछि असन्तुष्टहरू उचाल्ने र ओराल्ने काम भइरहेको छ’, ओलीले भनेका थिए, ‘जसरी बंगलादेश र श्रीलंकाको उदाहरण दिएर सदनमा बोलेको सुनियो, त्यो एउटा जिम्मेवार नेताले बोल्ने भाषा थिएन ।’
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले महासचिव पोखरेलद्वारा प्रस्तुत कार्ययोजनामा माथि आजको बैठकमा छलफल गरेर नेताहरूलाई जिम्मेवारीसहित देशैभर परिचालन गर्ने तयारी भएको बताए।