पहिलो पटक बस्यो एमसीसी अध्ययन कार्यदलको बैठक

पहिलो पटक बस्यो एमसीसी अध्ययन कार्यदलको बैठक

काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीको उपस्थिति थियो ।

एमसएसीबारे अध्ययन गरेर मात्रै यसलाई संसदले पारित गर्नु पर्ने नेकपाको केन्द्रीय समिति बैठकमा मत प्रकट भएपछि झलनाथ खनालको नेतृत्वमा आइतबार तीन सदस्यीय अध्ययन कार्यदल बनेको हो । कार्यदलको घोषणा भएको भोलिपल्टै सोमबार पहिलो बैठक बसेको स्रोतले बताएको छ । बैठकले एमसीसी सम्झौतासम्बन्धी के कस्ता सन्दर्भ सामाग्रीहरु अध्ययन गर्ने भन्नेबारेमा छलफल गरेको छ ।

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९एमसीसी० अन्तरगत नेपालले विद्युत र सडकमा ५५ अर्ब रुपैयाँ बराबरको सहयोग प्राप्त गर्ने गरी भएको सम्झौतालाई लिएर नेकपाभित्र विवाद चलेको छ । यही विवादका कारण मन्त्रिपरिषदले पारित गरिसकेको एमसीसी कम्प्याक्ट संसदमा पेश हुन सकेको छैन । अब खनाल नेतृत्वको समितिले १० दिनभित्र यससम्बन्धी पार्टीलाई प्रतिवेदन बुझाउने र त्यसपछि बल्ल प्रक्रिया अघि बढ्ने नेताहरुले बताएका छन् ।

एमसीसीको अध्ययन गर्ने तीन सदस्यीय समितिमा दुईजना एमसीसीका आलोचक र एकजना मात्र पक्षधर रहेकाले समितिले कस्तो निष्कर्ष प्रस्तुत गर्ला भन्ने विषयमा अहिले नै बताउन सकिने स्थिति छैन । कार्यदलका संयोजक खनाल र सदस्य रावलले यसअघि एमसीसीको आलोचना गर्दै आइरहेका छन् । तर, परराष्ट्रमन्त्री ज्ञवाली यो पारित हुनुपर्छ भन्ने पक्षमा छन् ।