एमाले पोलिटव्यूरो बैठकमा ओलीको ब्रिफिङ: प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन्

एमाले पोलिटव्यूरो बैठकमा ओलीको ब्रिफिङ: प्रचण्ड परिस्थिति भाँड्ने खेलमा छन्

काठमाडौं। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताबाट बाहिरिनुपर्दाको पीडा व्यक्त गरिरहेको बताएका छन्।

मंगलबार पार्टीको पोलिटव्यूरो बैठकमा ओलीले प्रचण्डले उठाएका विभिन्न विषयप्रति ब्रिफिङ गरेका थिए।

‘झण्डै ९ वर्षदेखि सत्तामा सामेल रहेको र एक्कासी सरकारबाट बाहिरिनुपरेको पीडा, आक्रोश छँदैछन्। त्यसका सन्दर्भमा उहाँले उठाउनुभएको विषयप्रति हाम्रो पार्टीको पोलिटव्यूरो बैठकमा अध्यक्ष कमरेडले गम्भीर ध्यानाकार्षण गराउनुभएको छ,’– बैठकको निर्णय सार्वजनिक गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने।

त्यस्तै, गौरा पर्वको अवसरमा टुँडिखेलमा युवाहरुले गरेको विरोधका बारेमा पनि ओलीले पोलिटव्यूरो बैठकमा ब्रिफिङ गरेका छन्। उनले युवाहरुको उक्त आक्रोशलाई ‘अराजक गतिविधि’ को संज्ञा दिएका छन्। ‘प्रधानमन्त्री र पूर्व प्रधानमन्त्री सामेल हुनुभएको डेउडाको कार्यक्रमको अराजक गतिविधिप्रति पनि उहाँले ध्यानाकार्षण गराउनुभयो। समग्र सरकार कसरी अगाडि बढ्दैछ भन्ने विषयमा पनि ध्यानकार्षण गराउनुभयो,’ गौतमले भने।