देउवालाई विश्वप्रकाशको आग्रह : अब प्रधानमन्त्री नबन्नुस्

देउवालाई विश्वप्रकाशको आग्रह : अब प्रधानमन्त्री नबन्नुस्

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन्। आज (आइतबार) केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उनले अब सभापति देउवाले त्याग गर्नुपर्ने बताएका हुन्।


महामन्त्री शर्माले वर्तमान सरकार बनाउनुमा कांग्रेसको हात रहेको उल्लेख गर्दै सबैले सहयोग गरेर सफल बनाउनुपर्ने धारणा राखे। त्यसपछि देउवाले प्रधानमन्त्री त्याग गरेर अरु कसैलाई बनाइनुपर्ने उनको जोड छ।

महामन्त्री शर्माले शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला, अर्जुननरसिंह केसीलागयत कसैलाई प्रधानमन्त्री बनाउने आग्रह गरे। यी नेताहरुलाई प्रधानमन्त्री बनाइँदा सभापति देउवामा त्याग र अन्य नेताहरुप्रति सम्मान पनि देखिने उनको तर्क छ।

महामन्त्री शर्माले पार्टी महासमिति बैठकमा एक्जिट पोलिसी अगाडि सारेका थिए। अहिले केन्द्रीय समितिले टुङ्गो लगाउने गरी महासमितिबाट पारित उक्त प्रस्तावमाथि छलफल भइरहेको छ। कांग्रेसको विधानमा एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक भन्दा बढी सांसद हुन नपाउने व्यवस्था गर्नुपर्ने महामन्त्री शर्माको प्रस्ताव थियो। उनलेको उक्त प्रस्तावमा व्यापक छलफल भइरहेको छ।