कांग्रेसको केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गरिने

कांग्रेसको केन्द्रीय समिति बैठक जारी, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गरिने

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ। पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्ने–नगर्ने लगायतका ११ वटा एजेण्डा रहेका छन्।

गत साउन २३ गतेदेखि प्रारम्भ भएको बैठक २८ गतेसम्म चलेको थियो। बैठकमा ११ वटा विभिन्न प्रस्तावित विषयहरूमाथि धारणा राख्ने क्रम जारी रहेको छ।   बैठकमा सहमहामन्त्रीहरू, महामन्त्रीहरू, उपसभापतिहरू र सभापति बोल्ने कार्यक्रम छ। पार्टी महामन्त्री विश्वप्रकाश शर्माले दुईपटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने भनी पार्टीमा राखेको प्रस्तावले संस्थापक पक्ष झस्किएको छ। संस्थापन पक्ष मध्यमार्गी बाटो अपनाएर महामन्त्री शर्माको प्रस्ताव पारित गर्ने तयारीमा छ। महामन्त्री शर्माको परिमार्जित प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदको कार्यकाल तोक्नुपर्ने उल्लेख छ।

शर्माको प्रतिवेदनमा भनिएको छ, ‘राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद ४ पटक हुन पाउने पद्धति बसाल्नुपर्छ। कांग्रेसले यो पद्धतिको अनुशरण गर्नुपर्छ, संवैधानिक बस्दोबस्तका लागि पनि कांग्रेसले यो प्रस्ताव पारित गर्नुपर्छ।’

कांग्रेसभित्र चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयलाई लिएर महासमिति बैठकदेखि नै विवाद छ। महामन्त्री थापाको प्रतिवेदनमा भनिएको छ, ‘निर्वाचनपूर्वको गठबन्धन लोकतन्त्रमा नियमित राजनीतिक अवस्था नभएर एउटा बाध्यात्मक परिस्थितिको उपज थियो भन्ने कुरालाई मनन गर्दै कांग्रेस यस महासमिति बैठकबाट पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आमनागरिकलाई पूर्ण विश्वास दिलाउँदै दृढ संकल्प गर्छ, हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्नेछौं र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रूख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं।’

संस्थापन पक्ष मध्यमार्गी बाटो अपनाएर परिमार्जनसहित महामन्त्रीहरुको  प्रस्ताव पारित गर्ने तयारीमा छ। केन्द्रीय समिति बैठकअगाडि पदाधिकारी तथा पूर्वपदाधिकारीहरूबीच महासमितिमा पेस भएका प्रस्तावका विभिन्न विषयमा केन्द्रित रहेर छलफल भएको थियो।