कोरोनाका कारण चीनमा मृतकको संख्या ३६२ पुग्यो, १७ हजार २ सय ५ जना संक्रमीत

काठमाडौ : चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६२ पुगेको छ । गत डिसेम्बरमा पहिलो पटक संक्रमण देखिएयता आइतबार बिहानसम्म चीनमा मात्रै तीन सय ६१ जनाको मृत्यु भइसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । मृत्यु हुनेमध्ये अधिकांश हुबेई प्रान्तका छन् । एक जनाको मृत्यु फिलिपिन्समा भएको हो।

मृत्यु हुने व्यक्ति भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तस्थित वुहानबाट फर्किएका चिनियाँ नागरिक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ४४ वर्षीय ती व्यक्ति फिलिपिन्स पुग्नुअघि नै संक्रमित थिए । उनी हङकङ हुँदै एक ३८ वर्षीया महिलासँगै फिलिपिन्स आएका थिए । महिलामा पनि संक्रमणको पुष्टि भएको फिलिपिनी स्वास्थ्य विभागले जनाएको छ । संक्रमित ती पुरुषलाई मनिलास्थित एउटा अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उनलाई गम्भीर खालको ‘निमोनिया’ भएको थियो ।

कोरोना भाइरसका कारण चीनबाहिर पहिलो पटक एकजनाको ज्यान गएको पुष्टि गर्दै फिलिपिन्सस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि रवीन्द्र अभयसिंघेले नआत्तिन फिलिपिनी जनतालाई आग्रह गरेका छन् । उनले मृतक महामारीको केन्द्रबाट फिलिपिन्स आएको र स्थानीय रूपमा संक्रमित नभएकोले डर मान्न नपर्ने बताएका हुन् ।शवलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम व्यवस्थापन गर्न चिनियाँ दूतावाससँग छलफल भइरहेको फिलिपिनी स्वास्थ्य अधिकारीले बताएका छन् ।

त्यस्तै संक्रमितको संख्या चीनमा मात्रै १७ हजार २ सय ५ पुगेको छ ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार चीनमा एकैदिन थप २ हजार ८ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्‍वका करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ। विश्‍वका विभिन्‍न २७ वटा मुलुकमा १७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।