काठमाडौं। चर्चित अमेरिकी र्यापर फ्याटम्यान स्कुपको कनेक्टिकटमा भएको कन्सर्टमा लडेर मृत्यु भएको छ। ५३ वर्षीय र्यापर फ्याटम्यान स्टेजमा गाउने क्रममा ढलेर मृत्यु भएको बताइएको छ।
हाम्डेन सहरको टाउन सेन्टर पार्कमा आफ्नो सेटको आधा भागमै उनी ढलेका थिए। सो शहरका मेयर लरेन ग्यारेटले फेसबुकमा एक पोस्ट गर्दै र्यापर स्कुपलाई एम्बुलेन्सबाट स्थानीय अस्पताल लगिएको तर अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको उल्लेख गरेका छन्।
फ्याटम्यानको बुकिङ एजेन्सीले पनि स्कुपको मृत्यु भएको पुष्टि गर्दै उनका कालजयी गीतहरुले उनलाई सधै जीवित राख्ने बताएको छ। स्कुप संगीत संसारको एक प्रिय व्यक्ति थिए।
स्कुपका संसारभर कयौं प्रसंशक रहेका छन्। उनको मृत्युले संसारभरका प्रसंशक तथा संगीतप्रेमी स्तब्ध बनेका छन्। उनको विलक्षण प्रतिभा, प्रतिष्ठित स्वर र उर्जाले संगीत उद्योगमै अमिट छाप छोडेको बताइन्छ।