१० दिनमा हजार शैय्याको अस्पताल निर्माण सम्पन्न, सोमबारबाट सञ्चालन हुदै

१० दिनमा हजार शैय्याको अस्पताल निर्माण सम्पन्न, सोमबारबाट सञ्चालन हुदै

काठमाडौं : कारोना भाइरसको संक्रमण न्यूनीकरणका लागि चीनले १० दिनमा तयार गरेको अस्पताल आजबाट सञ्चालनमा आउने भएको छ ।

कोरोना भाइरसको इपिसेन्टर वुहानमा निर्माण गरिएको १ हजार शैय्याको अस्पताल सोमबारबाट सञ्चालनमा ल्याउने तयारी गरिएको हो । चिनियाँ सरकारी सञ्चारमाध्यमहरूका अनुसार, अस्पतालको सम्पूर्ण निर्माण कार्य पूरा भएको छ र अस्पताल बिरामीको उपचारका लागि तम्तयार छ ।

संक्रमितको उपचारमा अनुभव हासिल गरिसकेका १४०० सैनिक मेडिकल स्टाफ नयाँ अस्पतालमा आइपुगेका छन् । यिनैले नयाँ अस्पतालसँगै अन्य क्षेत्रका बिरामीको उपचार गर्नेछन् ।
त्यस्तै, कोरोना भाइरस संक्रमितको उपचारका लागि दोस्रो अस्पताल पनि द्रुत गतिमा निर्माण भइरहेको छ । बीबीसीका अनुसार, दोस्रो अर्को अस्पतालको निर्माण बुधबारसम्ममा सम्पन्न भइसक्नेछ ।

चीनले चामत्कारिक रूपमा अस्पताल निर्माण गरेको हो । वुहानमा १ हजार शैय्याको अस्पताल १० दिनमा निर्माण भएको सिन्ह्वाले जनाएको छ । तर, बीबीसी समाचारमा भने ८ दिनमै उक्त अस्पताल बनेको उल्लेख छ ।

डिसेम्बर अन्तिम साताबाट कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनसहित विश्वका विभिन्न देशका लागि टाउको दुखाइको विषय भनेको छ । चीनमा मात्रै यो भाइरसका कारण ३ सय ६१ जनाको ज्यान गएको छ भने १७ हजार मानिस संक्रमित छन् ।

चीनबाहेकका अन्य २२ देशमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । शनिबार मात्रै फिलिपिन्समा कोराना भाइरस संक्रमितको मृत्यु भएको थियो । ४४ वर्षीय चिनियाँको उपचारका क्रममा फिलिपिन्सको राजधानी मनिलामा मृत्यु भएको हो । वुहानका ती चिनियाँ फिलिपिन्स आउनुअघि नै संक्रमित रहेको बताइएको छ ।

कोरोनाको प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको छ । अमेरिका, अस्ट्रेलिया इटलीसहित विभिन्न देशले चीन हुँदै आउने पर्यटकका लागि आफ्नो देशको ढोका बन्द गराएपछि विश्व नै यतिबेला कोरानाबाट त्रसीत भएको छ ।