कांग्रेस उपसभापति र महामन्त्रीको बैठक बस्दै, यस्ता छन् बैठकका  एजेण्डा

कांग्रेस उपसभापति र महामन्त्रीको बैठक बस्दै, यस्ता छन् बैठकका  एजेण्डा

काठमडौं । नेपाली कांग्रेसको  उपसभापति र महामन्त्रीको बैठक आज बस्दै छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पाँच पदाधिकारी मात्र बस्ने गरी बैठक बोलाइएको हो । 

दुई/दुई उपसभापति र महामन्त्रीलाई मात्र बैठकमा डाकिएको कांग्रेसका मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।गएको फागुन ७ देखि १० गतेसम्म गोदावरीमा भएको कांग्रेस महासमिति बैठकबाट पारित प्रतिवेदन अझै केन्द्रीय समितिले अनुमोदन गरेको छैन । केन्द्रीय समितिबाट अनुमोदन नगरिँदासम्म महासमितिका निर्णय कार्यान्वयन हुँदैन ।

त्यसको करिब ६ महिनापछि बसेको केन्द्रीय समिति बैठकमा उपसभापति र महामन्त्रीका उक्त प्रतिवेदन पेस गरिएको छ । तर, कुनै प्रतिवेदन पारित गरिएको छैन । ०८२ भित्रै महाधिवेशन गर्ने र चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापाका दुई प्रस्तावप्रति कांग्रेसको संस्थापन पक्षले आपत्ति जनाएको छ । 

महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय समितिलाई रहेको र चुनावी गठबन्धन गर्ने/नगर्ने विषय नीतिगत नभएर रणनीति भएकाले त्यसलाई प्रतिवेदनमा/दस्तावेजमा राख्न नमिल्ने देउवा पक्षको तर्क छ ।

महामन्त्री थापाले भने आफूले अघि सारेका विषय पार्टीको तल्लो तहको  धारणा भएको भन्दै महासमितिबाट पारित गरिसकेपछि सच्याउन नमिल्ने अडान राख्दै आएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा नेताहरूले ओगटेर बस्ने प्रवृत्ति अन्त्यका निम्ति ‘एक्जिट पोलेसी’ अघि सारेका छन् । नेताले सार्वजनिक लाभको पदमा लगातार रहन नमिल्ने गरी उनले १, २, ३ र ४ लागु हुनुपर्ने प्रस्ताव गरेका छन् ।

राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपल्ट, मन्त्री तीनचोटि र सांसद चारपालिभन्दा बढी बन्न नपाउने उनको प्रस्ताव छ । उनको प्रस्तावमा हालसम्म एक केन्द्रीय सदस्य पनि समर्थनमा उभिएका छैनन् । ती प्रस्तावमा सहमतिका निम्ति सभापति देउवाले उपसभापति र महामन्त्रीको बैठक डाकेका हुन् ।