काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड असहजतालाई सहजतामा बदल्ल माहिर नेता मानिन्छन्। उनीसँग अहिले सत्ता छैन। सत्ता नहुनु भनेको फुर्सद हुनु पनि हो। तर, प्रचण्डलाई फुर्सद छैन।
कारण– उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीमा फरक मत राख्दै नेतृत्वलाई चुनौती दिएका छन्। नेतृत्व नै हस्तान्तरणको प्रस्ताव राखेका छन्। अकण्टक नेतृत्वमा रहेका प्रचण्ड यतिबेला चाहिँ ‘असन्तुष्टि’लाई थामथुम पार्ने रणनीतिको तानाबाना बुन्दैछन्।
पार्टीभित्रैबाट आएको ‘पेलान’ बाट मुक्ति खोजिरहेका प्रचण्ड आइतबारदेखि चाहिँ पोखरामा छन्। माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरी परामर्श बैठकमा भाग लिन उनी दलबलसहित पोखरा आएका हुन्।
माओवादीमा सधैँ प्रचण्डलाई साथ दिँदै आएका तर आन्तरिक प्रतिस्पर्धा रहेको मानिने उपमहासचिवद्वय वर्षमान पुन ‘अनन्त’ र जनार्दन शर्मा ‘प्रभाकर’ ले एउटै डुंगामा बसेर फेवातालको सयर गरेका छन्। प्रभाकर त्यही नेता हुन्– जसले साउनको २६ गते बसेको स्थायी समिति बैठकमा १२ पृष्ठको प्रस्ताव अघि सार्दै प्रचण्डले नेतृत्व छाड्नुपर्नेसम्मको कुरा उठाएका छन्। अनन्त र आफूलाई नेतृत्वबाटै खेलाउने काम भएको संगिन आरोप पनि उनले लगाएका छन्।
अनन्त चाहिँ अहिले मौनजस्तै छन्। भनिन्छ– उनी पनि प्रभाकरको लाइनबाट टाढा छैनन्। यी दुवै नेता एउटै डुंगामा सयर गर्नुले चाहिँ साँच्चै यी दुई नेताको मन मिलेको त हैन ? भन्ने रुपमा पनि हेरिएको छ।