नेकपा एकीकृत समाजवादी पदाधिकारी चयन निर्वाचनबाटै

नेकपा एकीकृत समाजवादी पदाधिकारी चयन निर्वाचनबाटै

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को पदाधिकारी चयन निर्वाचनबाटै हुने भएको छ । महाधिवेशन भएको दुई महिना पुग्नै लाग्दासमेत विधानअनुसार पदाधिकारी चयन हुन सकेका छैनन् ।

आइतबारदेखि पार्टीको केन्द्रीय कमिटीको बैठक काठमाडौंको बानेश्वरमा सुरु भएको छ । बैठकले समीक्षा, कार्ययोजनासहित पदाधिकारी चयन गर्ने बताइएको छ । केन्द्रीय सदस्य दिलु पन्तले बैठकबाट सर्वसम्मतिमै पदाधिकारी चयन गर्ने विषयमा छलफल जारी रहेको बताइन्। सर्वसम्मतबाट पदाधिकारी चयन हुन नसके लोकतान्त्रिक प्रक्रियानुसार केन्द्रीय कमिटीबाट निर्वाचनबाटै पदाधिकारी चयन हुने उनले बताइन् ।

‘पदाधिकारीका लागि आकांक्षीको संख्या बढी नै रहेको छ, शीर्ष नेताहरूले सर्वसम्मतिबाटै टुंगो लगाउने गृहकार्य गरिराख्नुभएको छ,’ पन्तले राजधानीलाई भनिन्, ‘सर्वसम्मतिबाट हुन नसकेको अवस्थामा केन्द्रीय कमिटीबाट लोकतान्त्रिक प्रक्रियानुसार निर्वाचन गरेरै पदाधिकारी चयन गरिन्छ ।’

महाधिवेशनबाट अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका थिए । विधानअनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव गरी १८ जना पदाधिकारी चयन गर्न बाँकी छ । १८ पदाधिकारीका लागि पार्टीमा सयभन्दा बढी नेता आकांक्षी रहेका छन् । पदाधिकारीका लागि आकांक्षीको संख्या बढी देखिएकाले निर्वाचनबाटै टुंगो लगाउने ’boutमा समेत छलफल भइरहेको छ ।

बैठकमा २ सय ५१ केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री नेपालले मनोनीत ती सदस्यलाई शपथ गराएका हुन् । पार्टीमा ३ सय ४४ केन्द्रीय सदस्य छन् ।

पोलिटब्युरो कमिटी र स्थायी कमिटीसमेत निर्माण गर्ने बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गर्ने केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले बताए । केन्द्रीय संरचनाहरूको निर्माण र विविध विषयमा छलफल गरिनेछ । पदाधिकारीका आकांक्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ ।

बैठकले क्लस्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने विषयमा छलफल भइरहेको छ । पार्टीले युवा, दलित, जनजाति, अल्पसंख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने बताइएको छ ।

पार्टी विधानअनुसार वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (महिला), उपाध्यक्ष (मधेसी समुदाय), खुला चार उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव (दलित समुदाय, आदिवासी जनजाति समुदाय १–१ अनिवार्य) चयन गर्न बाँकी रहेको छ । पार्टीको महाधिवेशन १६ देखि २१ असारसम्म काठमाडौंस्थित कमलादीमा भएको थियो । महाधिवेशनमा १ हजार ८ सय ४९ प्रतिनिधि सहभागी थिए । महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज परिमार्जनसहित पारित भए पनि केन्द्रीय कमिटी तथा पदाधिकारी चयन गर्न बाँकी नै थियो ।