नेकपा केन्द्रीय कमिटी बैठक : ओलीले गर्दै सम्बोधन

नेकपा केन्द्रीय कमिटी बैठक : ओलीले गर्दै सम्बोधन


काठमाडौं स् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्।

बैठकको अन्तिम दिन आइतवार दिउँसो प्रधानमन्त्रीसमेत रहेका ओलीले उद्घाटनमाझैँ सम्बोधन गर्न लागेका हुन्। पाँच दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्‍नको जवाफ भने अर्का अध्यक्ष दाहालले दिँदैछन्। केन्द्रीय कमिटीको बैठकमा अध्यक्षद्वय ओली(प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका थिए।

त्यसैगरि महासचिव विष्णु पौडेलले विधान संशोधन र सांगठनिक प्रतिवेदन पेश गरेका थिए। बैठकको अन्तिम दिन प्रधानमन्त्री ओलीले सरकारको काम कारवाहीबारे नेताहरुले उठाएका जवाफ दिएर उनीहरुलाई मत्थर पार्ने कोशिश गर्नेछन्। केन्द्रीय सदस्यहरुले दुईतिहाइको बहुमत पाएर पनि सरकारले काम गर्नै नसकेको, भ्रष्टाचार घटाउन असफल रहेको र दलाल माफियाको जालोमा फसेको भन्दै चर्को आलोचना गरेका थिए।

ओलीले उद्घाटनका दिन पनि सरकारको बचाउ गर्दै रक्षात्मक मन्तब्य दिएका थिए। उनले सरकारले कानुन निर्माणमा ध्यान दिनुपरेकाले जनअपेक्षा अनुसार काम गर्न नसकेको स्वीकारेका थिए। अर्का अध्यक्ष दाहालले पार्टी गतिविधि र काम कारवाहीबारेमा उठेको प्रश्‍नको जवाफ दिँदैछन्।

पार्टी भित्र चर्को विवाद देखिएको अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बारेमा पनि अध्यक्ष दाहालले नेताहरुलाई मनाउने प्रयास गर्नेछन्। तर एमसिसीको विषयमा आजको बैठकले कुनै निर्णय लिने सम्भावना छैन। यो बैठकमा एमसिसीलाई नेकपाले एजेन्डा बनाएको पनि थिएन।