संसदीय समितिले लिएको ७ घण्टा लामो बयानमा रविले के भने?

संसदीय समितिले लिएको ७ घण्टा लामो बयानमा रविले के भने?

काठमाडौं। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले रास्वपाका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग बयान लिएको छ।

समितिले लामिछानेसँग समितिको बैठकमा बोलाएर शुक्रबार मध्यराति १ बजेसम्म झण्डै ७ घण्टा बयान लिएको हो। समिति सभापति सूर्यबहादुर थापाले राति १ बजेर ५ मिनेट जाँदा सोधपुछ प्रतिवेदनमा हस्ताक्षर भएको जानकारी दिए। शुक्रबार दिउँसो ३ बजेबाट सुरु भएको बयान राति १ बजेसम्म चलेको हो।

समितिले गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग लामो समय बयान लिएको हो।

समिति बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति थापाले जानकारी दिए।

मध्यरातसम्मको बयानपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले सहकारीको एक पैसा पनि आफूले नखाएको दाबी गरेका छन्। सञ्चारकर्मीसँग लामिछानेले भने, ‘सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन, मैले ती नामका सहकारीबाट एक पैसा पनि लिएको थिइनँ । यो कुरा मैले आफ्नो ढंगबाट प्रस्ट पारेको छु।’