भारतले आफूलाई राम्रो ‘रेस्पोन्स’ गरेको कांग्रेस बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ

भारतले आफूलाई राम्रो ‘रेस्पोन्स’ गरेको कांग्रेस बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ

काठमाडौं।  परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराएकी छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकमा उनले आफूले यही भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमण सफल भएको जानकारी गराएकी हुन्। नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको उनले बताएकी थिइन्।

परराष्ट्रमन्त्री डा राणा भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्किएकी हुन्। कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा उनले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताइन्। उनले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव सो बैठकमा सुनाएकी थिइन्।

मन्त्री डा राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा एस जयशंकरसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरु राखेको बताउँदै यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरुका माध्यमबाट सहयोग र सहकार्य थप प्रबद्र्धन गर्न मार्गदर्शन गरेको उल्लेख गरेकी थिइन्।

बैठकमा फरक प्रसंगमा मन्त्री डा राणाले कांग्रेसले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्वको विषयलाई थप ध्यान दिनुपर्ने बताएकी थिइन्।

उनले भनिन्, “कतिपय प्रतिनिधिमण्डमा महिलालाई नै सहभागी गराउँ भन्दा पनि त्यो तहमा महिला उपलब्ध छैनन्। त्यसैले यस्ता विषयमा अब हाम्रो पार्टीले अझै ध्यान दिनुपर्छ। कांग्रेसको समावेशिताको नीतिकै कारण उच्च तहमा महिला पुगेका पनि छन्। यसलाई थप बढाउनु जरुरी छ। पार्टी या अन्यत्र पनि पदाधिकारी तहमा महिलाको सहभागिता गराउनु जरुरी छ। यो माग मैले बारम्बार राख्दै आएको छु र आज पनि राख्दछु।”